Logo

थप चार जना थारू महिला सांसद बन्ने



cpn-uml-1

काठमाडौं ८ पुस ।
नेकपा (एमाले) बाट थप चारजना थारु महिला सांसद् बन्ने करिब पक्कापक्की भएका छन् । महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पु¥याउनुपर्ने र थारु कोटासमेत कायम भएपछि थारुको सांसद् हुने सङ्ख्या सुनिश्चित भएको हो ।

एमालेबाट कैलालीकी चुनकुमारी चौधरी र लक्ष्मी चौधरी सांसद् बन्ने पक्का भएको हो । चुनकुमारी प्रदेशसभा तर्फको सांसद बन्न लाग्नुभएको हो भने लक्ष्मी प्रतिनिधिसभा तर्फको समानुपातिक कोटामा आउने करिब पक्का भएको छ । चुनकुमारी कैलालीको गेटा ५, बरबट्टामा कमैया परिवारमा जन्मनुभएकी एमाले नेतृ हुनुहुन्छ । उहाँ २०५९ सालदेखि एमालेको सदस्यता लिएर अहिले एमाले कैलालीको जिल्ला सदस्य र जलस्रोत ऊर्जा विभागकी इन्चार्जको जिम्मेवारीमा रहनुभएको छ । कैलाली ४ को महिला विभागको इन्चार्जको जिम्मेवारीमा समेत रहनुभएकी उहाँ पहिलो पटक सांसद हुन लाग्नुभएको हो ।

त्यस्तै, लक्ष्मी धनगढी ६, जाली गाउँका स्थानीय बासिन्दा हुनुहुन्छ । यसअघि बालाराम भट्टराई नेतृत्वको स्थानीय निकाय पुनः संरचना आयोगमा सदस्यको जिम्मेवारी सम्हाल्नुभएकी लक्ष्मी पनि पहिलो पटक समानुपातिक कोटाबाट सांसद बन्न लाग्नुभएको हो ।
पहिलो पटक सांसदको भूमिकामा आउन लागेकोमा निकै खुशी लागेको र पछाडि परेका वर्गको हितमा काम गर्ने लक्ष्य रहेको चुनकुमारी चौधरीले बताउनुभयो । प्रदेश ७ को प्रादेशिक राजधानी थारु समुदायलाई पायक पर्ने ठाउँका लागि पहल गर्ने प्रतिबद्धता आफूले जनाएको बताउँदै उहाँले मुक्त कमैया, सुकुम्बासी, भूमिहीनको व्यवस्थापनका लागि काम गर्ने प्रतिबद्धता सुनाउनुभयो ।

सोहीअनुसार दाङबाट पूर्वसांसद् शान्ता चौधरी र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अघि एमालेमा प्रवेश गर्नुभएकी पूर्व सांसद गङ्गा चौधरी सत्गौंवा समानुपातिक सांसद बन्ने पक्कापक्की हुनुभएको छ । शान्ता चौधरी यसअघि संसदको प्राकृतिक स्रोत साधन समितिकी सभापतिको जिम्मेवारी निर्वाह गरी चर्चामा हुनुहुन्थ्यो । २०७० सालको संविधानसभा निर्वाचनमा दाङबाट पराजित चौधरी २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसदको जिम्मेवारीमा आउनुभएको थियो ।

त्यस्तै, २०४८ सालमा एमालेको सदस्यता लिएर पछि थरुहट आन्दोलनमा होमिनुभएकी गङ्गा चौधरी सत्गौंवाले एमाले छाडेर २०६५ सालपछि थरुहट तराई पार्टी नेपालमा आबद्ध हुनुभएको थियो । पछि सो दलमा पनि विवाद भएपछि २०७३ पुस ८ गते आफ्नै नेतृत्वमा थरुहट तराई पार्टी (लोकतान्त्रिक) गठन गरी निर्वाचन आयोगमा दर्ता गराउनुभएको थियो ।

केही समयपछि नै उहाँले आफ्नो दललाई डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा समाहित गराउनुभयो । भट्टराई नेतृत्वको सो दल लोकतान्त्रिक गठबन्धनबाट निर्वाचनमा जाने निर्णय गरेपछि सत्गौंवाले सो दल छाडेर निर्वाचनअघि दाङको एक कार्यक्रमबीच एमालेमा फर्कनुभयो । श्रीमान र श्रीमती दुवैजना एकसाथ एमालेमा प्रवेश गरेका सत्गौंवालाई एमालेले समानुपातिक तर्फको उम्मेदवार बनाएको थियो । उहाँको श्रीमान नन्दकुमार चौधरीलाई एमालेले दाङ जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा राखेको छ ।
गोरखापत्रबाट



प्रतिक्रिया दिनुहोस्