Logo

ठोरी प्रदेश नं ३ मा गाभिन्छः अध्यक्ष दाहाल



काठमाडौं ११ पुस ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पर्सा जिल्लाको ठोरी प्रदेश नं ३ मा गाभ्ने प्रतिबद्धता जनाएका छन् । पर्सा जिल्लास्थित ठोरी नाकाको आज अवलोकन निरीक्षणपछि ठोरी गाउँपालिकाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रमम उनले यसअघि नै ठोरीलाई ३ नं प्रदेशमा राख्ने भनिए पनि मधेस आन्दोलनका कारण हुन नसकेको बताए ।

अध्यक्ष दाहालले अब बन्ने सरकारको पहिलो प्राथमिकता नै ठोरीलाई ३ नं प्रदेशमा गाभ्ने काम हुने बताउँदै यसअघि नै ठोरीलाई प्रदेश नं.३ मा गाभिने सो गाउँपालिकाले सर्वसम्मत निर्णय गरेकाले यसको कार्यान्वयनका लागि सहज भएको धारणा व्यक्त गरे ।

नाकाबन्दीका समयमा अत्यधिक पेट्रोलियम पदार्थ र खाद्यान्नसमेत सो नाकाबाट भित्रिएको स्मरण गर्दै उनले यो नाकालाई विकास गरी ठोरी केरुङ मार्ग छिट्टै निर्माण गरिने बताए ।

अध्यक्ष दाहालले भने, ‘त्रिदेशीय साझेदारीका लागि यो मार्ग निकै महत्वपूर्ण छ, यो निकै छोटो र उत्कृष्ट मार्ग बन्नेछ ।’चुनावको विजय जुलुसका लागि नेकपा एमाले अध्यक्ष केपी ओली रसुवा जाने र आफू चितवन आउने संयोगले ठोरी–केरुङ राजमार्ग छिटो बन्ने निश्चित भएको उनले बताए ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि माडी र बाँदरझुलाका जनतालाई धन्यवादज्ञापन गर्न जाने क्रममा अध्यक्ष दाहाल ठोरी पुगेका थिए ।अध्यक्ष दाहालले आजै चितवनको बाँदरझुलाका बासिन्दालाई पनि धन्यवादज्ञापन गरे । बाँदरझुलामा आयोजित कार्यक्रममा उहाँले अब बन्ने सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट नै सुकुम्वासी समस्या समाधानका लागि ठोस निर्णय गर्ने बताए । अध्यक्ष दाहालले पछिल्ला समय पार्टी एकताका विषयमा सञ्चारमाध्यममा आएका समाचारप्रति खण्डन गर्दै एमाले र माओवादी केन्द्र बीचको एकताका विषयमा शंका नगर्न आग्रह गरे । राष्ट्रियसभाको गठन सबैको सहकार्य र सहमतिमै हुने पनि उनले बताए । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्