Logo

ओली र प्रचण्डबीच आज वान टु वान वार्ता



काठमाडौं १२ पुस । एमाले र माओवादीबीच पार्टी एकता र सरकार गठनका विषयमा आज वार्ता हुँदैछ । जारी गतिरोध अन्त्य र सरकार निर्माण प्रक्रियालाई तीव्रता दिनेगरी वार्ता अघि बढ्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार छलफलको तयारी भएको दुवै जनाको निजी सचिवालयले जनाएको छ । तर समय भने तय भैसकेको छैन ।

यसअघि पाँच दिनको चितवन बसाईपछि मंगलबार काठमाडौं फर्किएका माओवादी अध्यक्ष प्रचण्डले ओलीसँग हिजै भेट्ने भनिएपनि छलफल हुन सकेको थिएन । आजको भेटमा दुई अध्यक्षबीच पार्टी एकता र सरकार गठनको विषयमा छलफल हुने सम्भावना छ ।गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको अन्तिम निर्वाचन परिणाम घोषणा हुनै लाग्दा दुई दलबीच नयाँ सरकार गठन र पार्टी एकताको प्रक्रिया शुरु भएको हो ।

भावी प्रधानमन्त्रीका विषयमा खासै विवाद नभएपनि एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने, नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा आउँदा पार्टी एकताबारे केही भ्रम र अन्योलसमेत सिर्जना भएको छ ।

मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित गत असोज १७ गते एमाले र केन्द्रले एकता र तालमेलको घोषणा गरेका थिए । दुई दलले पार्टीको साझा दस्तावेज, विधान र संगठनात्मक खाका कोर्न अलगअलग कार्यदल पनि गठन गरेका छन् ।

गत शुक्रबारका लागि तय भएको एकता संयोजन समितिको बैठक त्यसदिन एमाले स्थायी कमिटीको बैठक हुनाका साथै अध्यक्ष दाहाल काठमाडौँ बाहिर रहेकाले हुन सकेको थिएन । एमालेको स्थायी कमिटीले पार्टी एकता र सरकार गठनको कामलाई सँगसँगै अघि बढाउने निर्णय गरेको थियो भने त्यसअघि बसेको केन्द्रको पार्टी केन्द्रीय कार्यालयको बैठकले सरकार गठनभन्दा अघि पार्टी एकतामा जोड दिएको थियो ।

माक्र्सवादी सिद्धान्तलाई पालना गर्दै विसं २००६ वैशाख ९ मा नेपालमा पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएको थियो । कम्युनिष्ट पार्टी स्थापना भएदेखि टुटफुट, विभाजन, आरोप–प्रत्यारोप र एकताको शृंखला चल्दै आएको छ । एमाले र माओवादीले असोज तेस्रो हप्ता दुवै पार्टी एकीकरण गर्ने घोषणा गर्दै त्यसको प्रारम्भ चुनावी तालमेलबाट सुरु हुने बताएका थिए । दुई चरणमा भएको प्रतिनिधि तथा प्रदेशसभाका चुनावमा दुवै दलले ४० र ६० को अनुपातमा तालमेल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्