Logo

कुवेतमा अलपत्र नेपाली भन्छन् : ‘छिटो स्वदेश फर्कन पाए हुन्थ्यो’



काठमाडौं १५ पुस । कुवेतको नेसनल खराफी कन्स्ट्रक्टिङ कम्पनीका ३ सय नेपाली कामदार अलपत्र परेको ३ महिना भइसक्यो । काम बन्द भएको र कम्पनीले खाना खुवाउन छाडेको पनि तीन साता नाघिसक्यो ।

यी कामदारले सात महिनादेखिको तलब पनि पाएका छैनन् । कम्पनीको स्वामित्व विवादका कारण कसैले पनि कामदारको जिम्मा नलिएपछि उनीहरू अलपत्र परेका हुन् । उद्धारको प्रतीक्षामा रहेका कामदारलाई नेपाली समुदायले पैसा उठाएर खाना खुवाइरहेका छन् ।

सुलेभियामा १ सय ५ र सोइवामा २ सय कामदार अलपत्र छन् । पीडितलाई कम्पनीले खाना, टिकट दिएर स्वदेश पठाइदिन्छ भन्ने झिनो आस पनि छैन । ‘हाम्रो जीवन नेपाली दाजुभाइले नै जोगाइराख्नुभएको छ । उहाँहरूले कति दिनसम्म धान्न सक्नुहुन्छ थाहा छैन,’ पीडित अम्बरबहादुर बस्नेत भन्छन्, ‘यहाँबाट छिट्टै स्वदेश फिर्न पाए हुन्थ्यो भन्ने कामना गरिरहेको छु ।’

उद्धारमा ढिलाइ
कामदारको अवस्था जोखिमपूर्ण देखेपछि कुवेतस्थित नेपाली दूतावासले एक महिनाअघि नै परराष्ट्र र श्रम मन्त्रालयलाई तुरुन्त उद्धार आवश्यक भएको भन्दै बजेट उपलब्ध गराइदिन अनुरोध गरेको थियो । श्रम मन्त्रालय भने अहिलेसम्म अलपत्र कामदार कानुनी रूपमा त्यहाँ गएका हुन् वा गैरकानुनी भन्ने खोजी गरेरै बसिरहेको छ । श्रम प्रवक्ता भुवन आचार्य दुई वर्ष करारपत्र बाँकी रहेका कामदारको जिम्मेवारी पठाउने म्यानपावर व्यवसायीलाई दिइएको बताउँछन् । पुन: श्रम स्वीकृति लिई गएका कामदारको खर्च वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बेहोर्ने उनी बताउँछन् । अलपत्र कामदारमध्ये धेरैजसोको दुई वर्षको श्रम स्वीकृति समाप्त भइसकेको छ ।

बोर्डले वैदेशिक रोजगार ऐन र नियमावलीअनुसार कामदारलाई खाना खुवाउन र उद्धारका लागि आवश्यक खर्च गर्न दूतावासलाई पत्र पठाएको कार्यकारी निर्देशक रघुराज काफ्ले बताउँछन् । दूतावासले भने एउटै क्याम्पमा अलपत्र कामदारलाई कानुनी र गैरकानुनी भनेर छुट्याउन अव्यावहारिक हुने बताएको छ । ‘बोर्डको पत्रअनुसार समस्यामा परेका मध्ये कति जनालाई सम्बोधन गर्न मिल्छ, त्यो छुट्याइरहेका छौं,’ राजदूत यज्ञबहादुर हमाल भन्छन्, ‘जतिलाई मिल्छ त्यतिलाई सम्बोधन गर्ने हो ।’ कानुनी रूपमा सम्बोधन गर्न नमिल्नेलाई कसले उद्धार गर्ने भन्नेमा जिम्मेवार निकाय मौन देखिन्छन् । पीडित कामदारलाई राहत जुटाउन लागिपरेका कुवेत नेपाली सरोकार समाजका अध्यक्ष दिल स्याङबो सरकारले पीडितलाई तुरुन्त उद्धार गर्ने बाटोमा ढिलासुस्ती गरिरहेको बताउँछन् । ‘यहाँको स्थिति थाहा नपाएको हो वा थाहा पाएर पनि मौन भएको हो भन्ने हामीले बुझ्न सकेका छैनौं,’ उनी भन्छन् ।

डिपोर्टेसनको विकल्प
बागलुङका आइतमानसिंह परियारको भिसा नवीकरण नभएबापतको जरिवाना मात्रै १ लाख ६० हजार रुपैयाँ पुगेको छ । कुवेत छाड्न उनले उक्त रकम कुवेती अध्यागमन विभागलाई बुझाउनुपर्छ । अनि मात्र स्वदेश फिर्ने कानुनी बाटो खुल्छ । सात महिनादेखि तलब नपाएका उनी आफैं जरिवाना बुझाउन सक्ने हैसियतमा छैनन् । तर, उनले यसको एउटा विकल्प देखेका छन्– देशनिकाला । ‘अब एउटै डिपोर्टेसन (देशनिकाला) प्रक्रियाबाहेक अरू बाटोबाट स्वदेश फिर्न सक्ने अवस्था देखिनँ,’ उनले भने ।

सबै कामदारको जरिवाना तिर्दा ४० लाख रुपैयाँभन्दा बढी लाग्छ । श्रम मन्त्रालयले यो रकम तिर्न नसक्ने भन्दै कूटनीतिक पहल गर्न दूतावासलाई अनुरोध गर्‍यो । कुवेतले कामदारको जरिवाना मिनाहा नगर्ने भएपछि केही कामदार आफैं डिपोर्ट भएर स्वदेश फिर्न राजी भएका हुन् । राजदूत हमालले अलपत्रमध्ये १७ जना कामदार डिपोर्ट भएर जान तयार भएको बताए । उनीहरूलाई दूतावासकै सेल्टरमा राखिएको छ । ‘टिकटको बन्दोबस्त गर्ने पहल भइरहेको छ,’ हमालले भने । देशनिकाला प्रक्रियाबाट स्वदेश फिरेको व्यक्ति पुन: कुवेत जान पाउँदैन ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्