Logo

समानुपातिकमा नपरेपछि राजपा नेपालको पार्टी कार्यालय तोडफोड



काठमाडौं १५ पुस । एकजना नेतालाई समानुपातिकबाट सांसद नबनाएको भन्दै राष्ट्रिय जनता पार्टी नेपालको काठमाडौँस्थित कार्यालयमा तोडफोड गरिएको छ । राजपा नेपालले निर्वाचन आयोगलाई बुझाएको समानुपातिकको सूचीमा नेपाल मधेशी कर्मचारी मञ्चका पूर्वअध्यक्ष विनोद सिंहको नाम नपरेको भन्दै उनका समर्थकले राजपाको कार्यालय तोडफोड गरेका हुन् ।

आफूले दिएको लामो योगदानको बेवस्ता गर्दै पार्टीले समानुपातिक सांसद नबनाएर अन्याय गरेको गुनासो सिंहले गरेका छन् । जागिर अझै १० वर्ष बाँकी रहेकै अवस्थामा राजपाले संसदको टिकट दिने भनेपछि राजीनामा दिएको बताउँदै उनले समानुपातिकको उम्मेद्वार बनाएर अहिले नाम काटिएको भन्दै दु:ख जनाएका छन् ।

राजपाले सिंहको नाम अल्पसंख्यकतर्फ एक नम्बरमा राखेको थियो । तर उनले आफूलाई हटाएर अर्कैलाई समानुपातिक सांसद बनाएको गुनासो गरे । तर सिंहले पार्टी कार्यालय तोडफोडमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।

पार्टी कार्यालयका कर्मचारी प्रदीप पाठकले तोडफोड भएको बताउँदै क्षतिको एकीन नभएको उल्लेख गरे । सिंहका समर्थकहरुले पार्टी कार्यालयको बोर्ड, फर्निचर र अन्य सामान तोडफोड गरेका छन् ।

राजपा नेपालबाट निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको अन्तिम सूचीमा निलम देवी भुमिहारनी, रामप्रवेश बैठा, अन्जुकुमारी, पुनम यादव, बबिता चौधरी, डिम्पल झा, रामनरेश राय यादव, विभा ठाकुर, जानकीशरण साह र लैला खातुन अटेका छन् ।



प्रतिक्रिया दिनुहोस्