Logo

पूर्वडिआईजी सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र काटियो



काठमाडौं १८ पुस । काठमाडौं प्रहरी परिसरले पूर्वडिआईजी एवं एमालेका सांसद् नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र काटेको छ ।

कार्यसम्पादन मूल्यांकन किर्ते गरेको आरोपमा अनुसन्धानमा तानिएका पूर्वडिआईजी सिलवाललाई पक्राउ गर्न काठमाडौंले मंगलबार बेलुकी प्रहरी परिसर ललितपुरलाई पत्र काटेको हो।स्रोतका अनुसार पक्राउ पर्न सक्ने जोखिम बढेपछि सिलवाल मंगलबार बिहानै काठमाडौं उपत्यका बाहिर पुगिसकेका छन् । विमानस्थल अध्यागम स्रोतका अनुसार सिलवाल हवाई मार्गबाट कतै गएको देखिँदैन । स्रोतका अनुसार उनी आफ्ना केही निकटसँग उपत्यका बाहिर छन् ।

गत वर्ष सहकर्मी डीआईजी जयबहादुर चन्दलाई सरकारले प्रहरी प्रमुख बनाउने तयारी गरेपछि सिलवालले आफ्नो कार्यसम्पादन मूल्यांकनको नम्बर धेरै रहेको भन्दै सर्वोच्च अदालतमा दुद्दा दायर गरेका थिए। सर्वोच्चको आदेशपछि सरकारले तत्कालीन डीआईजी प्रकाश अर्याललाई प्रहरी प्रमुख बनायो। यसविरुद्ध सिलवालले अर्यालको भन्दा आफ्नो धेरै नम्बर रहेको भन्दै कार्यसम्पादन मूल्यांकनको कपी सर्वोच्चमा समेत बुझाएका थिए।

उक्त मु्द्दामा हालै मात्र सार्वजनिक भएको सर्वोच्च अदालतको फैसलाको पूर्णपाठमा उक्त कार्यसम्पादन मूल्यांकनको कपी सक्कली हो वा नक्कली भन्ने सम्बन्धमा अनुसन्धान गर्न भनिएको छ। उक्त फैसलाको आधारमा प्रहरीले पुन: अनुसन्धान सुरु गरिएको बताएको छ।

अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेपछि अदालत पुगे पनि आफ्नो पक्षमा फैसला नआएपछि सिलवाल प्रहरी सेवाबाट राजीनामा दिइ राजनीतिमा होमिएका थिए ।एमालेमा प्रवेश गरेपछि टिकट पाएकापूर्वडीआईजी सिलवाल गत म‌ंसिर २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा ललितपुर–१ बाट निर्वाचित भएका हुन्।



प्रतिक्रिया दिनुहोस्