Logo

प्रहरीलाई समाचारको स्रोत मागेर अनुसन्धान गर्ने बाटो खुल्यो



काठमाडौं १९ पुस । सुशासन न्यूज डटकम र मूलधार न्यूज डटकमलार्इ प्रहरीले सूचना माग गरेका सन्दर्भमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको छ। पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना र न्यायाधीश नीता गौतम दीक्षितको संयुक्त इजलासले अपराध अनुसन्धानको सिलसिलामा सहयोगको अपेक्षा राखी प्रहरीद्वारा प्रेसित पत्रले प्रेस सम्बन्धी राष्ट्रिय र अन्तराष्ट्रिय मूल्यमान्यता र परिपार्टीलाई कुण्ठित, नियमन, बन्देज र कटौती गर्न सक्ने अवस्था नदेखिदा निवेदनको माग बमोजित अन्तरिम आदेश जारी गर्नु नगर्ने फैसला गरेको हो।

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालको कार्यसम्पादन सम्बन्धी प्रकाशित समाचारको विषयमा महानगरीय प्रहरी परिसरबाट सुचना माग गरेपछि ह्वाइट स्टार मिडिया प्रालि र न्युज मिडिया प्रालिका मदन भण्डारीले संयुक्त रुपमा अदालतमा रिट दायर गरेका थिए।

एमाले टिकटमा ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पूर्व डीआईजी सिलवालले सर्वोच्च अदालतमा पेश गरेको भनिएको फरक कार्यसम्पादन मू्ल्यांकनका कागजात उपलब्ध गराउन प्रहरीले पत्राचार गरेपछि ती अनलाइन उच्च अदालत पुगेका हुन्।

नेपाल सरकारका मुख्य सचिव लोक दर्शन रेग्मी, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षक प्रकाशकुमार अर्याल, गृह मन्त्रालय, महानगरीय प्रहरी परिसर र नेपाल टेलिकम केन्द्रीय कार्यालयलाई विपक्षी बनाइएको छ।



प्रतिक्रिया दिनुहोस्