Logo

प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक



बालुवाटारमा विहान सर्वदलीय बैठक बस्दै
काठमाडौं २० पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न आज संसद्‌मा प्रतिनिधित्व गर्ने ५ दलको बैठक बोलाएका छन् । बिहीबार बिहान ९ बजे बालुवाटारमा बोलाइएको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी राजपा र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेता सहभागी हुने जनाइएको छ ।

बैठकमा सहमति जुटेलगत्तै बस्ने मन्त्रिपरिषद् बैठकबाट राष्ट्रियसभाको निर्वाचन मिति तोक्नेसहित प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने काम एकैसाथ गर्ने तयारीमा सरकार छ । निर्वाचनलगत्तै प्रदेश प्रमुख तोक्ने तयारीमा जुटेको सरकार वाम गठबन्धनका नेताहरूको विरोधपछि पछि हटेको थियो । एमाले र माओवादी केन्द्रका नेताहरूले जनादेशअनुसार नयाँ सरकारले प्रदेश प्रमुख तोक्ने भन्दै सरकारले ‘जबर्जस्त’गरे आफ्ना सांसदहरूले शपथ नलिने चेतावनी दिँदै आएका थिए । कानुनी रूपमै प्रदेश प्रमुख तोक्नुपर्ने बाध्यता आएपछि सरकारले सहमति प्रयास थालेको हो ।
कानुनअनुसार निर्वाचन परिणाम क्रमशस् प्रदेशको प्रदेश प्रमुख र प्रतिनिधिसभाको राष्ट्रपतिलाई बुझाउनुपर्छ । निर्वाचन आयोगले प्रदेश प्रमुख तोक्न ताकेता गर्दै आए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमति खोज्न मंगलबारबाटै राजनीतिक परामर्श गरेका हुन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरिसकेका छन् । ‘सर्वदलीय बैठकमा सहमति जुटे त्यहीअनुसार, नजुटे स्वतन्त्र र सामाजिक रूपमा प्रतिष्ठित व्यक्तिलाई प्रदेश प्रमुख नियुक्त गर्ने तयारी प्रधानमन्त्रीले थाल्नुभएको छ,’ बालुवाटार स्रोतले भन्यो ।



प्रतिक्रिया दिनुहोस्