Logo

राजधानी माग्दै आमहडताल



काठमाडौं २० पुस । सरकारले प्रदेश राजधानीबारे औपचारिक निर्णय नगर्दै बुधबारदेखि मुख्य सहरमा आन्दोलन सुरु भएको छ। मन्त्रिपरिषद्को बिहीबार बस्ने बैठकले अस्थायी राजधानी तोक्ने तयारी गरिरहँदा सहरी विकास मन्त्रालयले तयार पारेको प्रस्ताव सार्वजनिक भएलगत्तै असन्तोषको ज्वाला दन्किन थालेको हो।

प्रदेश १ को अस्थायी राजधानी विराटनगर घोषणा गर्ने प्रस्ताव तयार भएको सूचना सार्वजनिक भएलगत्तै धनकुटामा बुधबार आमहडताल घोषणा गरिएको छ। धरानमा रिले अनशन जारी छ, इटहरीले पनि दाबी छाडिसकेको छैन। सहरी विकास मन्त्रालयले प्रदेश ७ को अस्थायी राजधानी धनगढीलाई प्रस्ताव गरेलगत्तै यसअघिको सुदूरपश्चिम विकास क्षेत्रको मुख्यालय रहेको डोटीको दिपायल-सिलगढी पनि बन्द छ। त्यहाँका आक्रोशित आन्दोलनकारीले बन्दमा चलाएको भन्दै एउटा मोटरसाइकल जलाइदिएका छन्।

प्रदेश ५ को अस्थायी राजधानी दाङ बनाउने प्रस्तावको विरोधमा रुपन्देहीको बुटवलमा बुधबार साँझ मसाल जुलुस प्रदर्शन भएको छ। सरकारले प्रदेश २ को राजधानी जनकपुर तोक्ने तयारी गरे पनि उक्त प्रदेशको एक मात्र महानगर र देशकै आर्थिक केन्द्र भनी छवि बनाएको वीरगन्जले सहजै स्विकार्ने देखिँदैन।

प्रदेश ४ को राजधानी पोखरा र ६ को सुर्खेतमा खासै विरोधको स्वर सुनिएको छैन। यी दुवै निर्विकल्प प्रदेश राजधानी हुनेछन्। त्यस्तै, प्रदेश ३ को अस्थायी राजधानी भक्तपुर बनाउने सरकारको तयारी छ।

प्रदेश राजधानीलाई लिएर धनकुटामा आमहडताल आह्वान गरिएको छ। त्यसक्रममा धनकुटामा बुधबार तीन वटा सवारी साधनमा तोडफोड गरिएको छ। कोसी पहाडी जिल्लालाई असर गर्ने गरी गरिएको आम हडताल धनकुटालाई राजधानी तोकिए मात्रै रोकिने अडान आन्दोलनकारीको छ।

धनकुटाको जिरोप्वाइन्ट, आत्मारा, सल्लेरी र हिले बजारमा आन्दोलनकारीले सडकमै बसेर यातायात बन्द गराए। आन्दोलनकारीले काठमाडौंबाट भोजपुरतर्फ हिँडेको ना.१ ज ६४११ नम्बरको टाटासुमो, जल उत्पन्न प्रकोप कार्यालयको को.१ झ १६९ नम्बरको र मोरङ कारागारको को.१ झ ४८३ नम्बरको गाडी तोडफोड गरेका छन्।

त्यस्तै, आन्दोलनकारीले सयौं मोटरसाइकल र ३ दर्जनभन्दा बढी गाडीलाई रोकेर राखेका थिए। गाडी रोकिएपछि सयौं यात्रु सडकमा अलपत्र परेका थिए।

राजधानी प्राप्ति आन्दोलन संघर्ष समितिले ५ बजेपछि राति १२ बजेसम्म यातायात खोल्ने निर्णय गरेको छ। जिरोप्वाइन्टमा कोणसभा गरेर बन्द खुलेको जानकारी गराउँदै बिहीबारदेखि निरन्तर बन्द जारी रहने संघर्ष समितिका संयोजक सांसद निरन राईले जानकारी दिए।

धनकुटा बजार बुधबार बिहानैदेखि बन्द भयो। कोसी राजमार्गमा सवारीसाधन चलेनन्। सवारीसाधन नचल्दा कोसी पहाडका धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुरको जनजीवन प्रभावित बनेको छ।

बन्दकर्ताले एम्बुलेन्स, प्रेस, विद्यालयका र दूध तथा तरकारी बोकेको सवारी साधनलाई भने चल्न दिएका छन्। राजधानी माग राख्दै धनकुटावासी २० दिनदेखि आन्दोलित छन्।

पर्याप्त सरकारी भौतिक पूर्वाधार र जग्गा धनकुटामा रहेकाले साविकको पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकामसमेत रहेकाले धनकुटालाई राजधानी बनाउनुपर्ने राजधानी आन्दोलन संघर्ष समितिका सदस्य सुन्दरबाबु श्रेष्ठले बताए।

धनकुटा २ सय ४० वर्ष अघिदेखिको प्रशासनिक केन्द्र हो। १८४० सालदेखि पूर्व क्षेत्रको प्रशासनिक केन्द्रका रूपमा स्थापित धनकुटा राणाकालीन समयमा बडाहाकिम कार्यालय हँुदै पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम रहिरहेको अवस्था छ।

सामथ्र्यका आधारमा हेर्ने हो भने करिब ४८ हजार रोपनी सरकारी र ३ सय ९४ वटा सरकारी कार्यालयका भवन छन्। हरेक भवन प्रदेश मन्त्रालय बस्न उपयुक्त रहेको स्थानीयको दाबी छ।

तराईका तीन जिल्ला र उदयपुर जिल्लाको धनकुटा आउने मुख्य नाका पूर्व-पश्चिम राजमार्ग हो। बाँकी पहाडी, हिमाली र तराईका जिल्ला समेटिने आधार तयार भइसकेका छन्। ताप्लेजुङ र पाँचथर जिल्ला तमोर करिडोर, मध्यपहाडी लोकमार्गबाट जोडिएका छन्। इलाम राँके, रवि, भेडेटार सडक सञ्जालबाट जोडिएको छ।



प्रतिक्रिया दिनुहोस्