Logo

बूढानीलकण्ठ मन्दिरको पुनःनिर्माणमा ढिलाइ



काठमाडौँ, २० पुस । भूकम्पबाट क्षतिग्रस्त बूढानीलकण्ठ मन्दिर परिसरको भौतिक संरचना पुनःनिर्माणमा ढिलाइ भएको छ । पर्याप्त बजेट विनियोजन नहुँदा पुनःनिर्माणमा ढिलाइ भएको हो । विसं २०७२ को भूकम्पका कारण मन्दिर परिसरका धर्मशाला, शिव मन्दिर, सरस्वती मन्दिर तथा पर्खाल पूर्णरुपमा क्षति भएको छ ।

पुनःनिर्माणका लागि मन्दिर व्यवस्थापन समितिले रु २० करोड लागत प्रस्तावसहित नगरपालिकामा प्रस्ताव पठाएको भए पनि बजेट निकासा नभएको मन्दिरका मठाधीश स्वामी निगमानन्दले बताउनुभयो ।बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धवप्रसाद खरेलले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बजेट निकासा नगरेको हुँदा मन्दिरलाई रकम उपलब्ध गराउन नसकिएको बताउनुभयो ।

बूढानीलकण्ठ मन्दिरमा शेषनागमाथि विष्णुको पूर्ण कदको मूर्ति शयन गरेको देख्न सकिन्छ । उक्त मूर्ति लिच्छवि राजा विष्णु गुप्ताका पालामा विक्रम संवत् ६९७ मा बनेको शिलालेखमा उल्लेख छ ।

बूढानीलकण्ठको प्रस्तरमूर्ति बाइस फिट लम्बा र १२ फिट चौडाको छ । नेपाली प्रस्तरमूर्तिमा यसभन्दा ठूलो अर्को मूर्ति छ्रैन । नारायण अर्थात् विष्णु क्षीर सागरमा रहेको कल्पना गरिएको सो मूर्ति शेषनागका पाशमा शय्या गरी शेषनागकै एघार शिरबाट सुरक्षित भई शङ्ख, चक्र, गदा र पद्म हातमा बोकेर आनन्द र शान्त स्वरुपमा शयन गरिरहेको देखिन्छ ।

ऐतिहासिक महत्वको उक्त मन्दिरमा काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट भतmजन आउने गर्छन् । उतm मन्दिरमा विशेष गरी हरिबोधिनी एकादशी र हरिशयनी एकादशीका दिन विशेष मेला लाग्छ । त्यस समयमा उक्त मन्दिरमा दर्शन गरी मेला भर्नाले पारिवारिक सुख शान्ति तथा समृद्धि प्राप्त हुने जनविश्वास छ ।मन्दिरमा छाया दर्शनको विशेष महत्व रहेको छ । “सुतेको अवस्थामा रहेका विष्णुको मूर्ति पानीमा हुबहु अवस्थामा देखिन्छ, जुन विज्ञानका लागि चुनौतीको विषय हो”, मठाधीश निगमानन्दले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्