Logo

तोकिएन प्रदेश मुकाम र प्रमुख



काठमाडौं २२ पुस ।
प्रदेश प्रमुख तथा अस्थायी मुकाम तोक्ने अपेक्षा गरिएको शुक्रबारको मन्त्रिपरिषद् बैठकले यी दुवै विषयमा निर्णय लिन सकेन ।प्रदेश प्रमुख, मुकाम तोक्ने काम सरकारको भएको भन्दै बिहीबार सर्वदलीय बैठकले सरकारलाई निर्णय लिन सहमति दिएको थियो । सर्वदलीय बैठकको भोलिपल्ट शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई विषय टुंग्याउने अपेक्षा गरिए पनि सरकारले राष्ट्रियसभा निर्वाचन माघ २४ मा गराउने मात्रै निर्णय लिएको छ ।

प्रदेश प्रमुखका लागि चर्चा गरिएका नामावली तथा अस्थायी मुकाम तोक्ने विषयमा सत्तारुढ दलभित्रै व्यापक छलफल हुन नसक्दा शुक्रबार सरकारले यो विषयमा निर्णय लिन नसकेको सरकारी अधिकारीले बताएका छन् । तर, सरकारी अधिकारीले प्रदेश प्रमुख र अस्थायी मुकाम मन्त्रिपरिषद्को आगामी बैठकबाट तोक्ने गरी गृहकार्य भइरहेको जनाएका छन् ।

अपजस आउने काम भएकाले पाँच दलको सहमतिमै गर्ने तर ठोस सहमति नभए पनि आगामी मन्त्रिपरिषद् बैठकबाट निर्णय लिने सरकारको योजना छ । सर्वदलीय बैठकमा वाम गठबन्धनका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश प्रमुख, प्रदेशहरूको सदरमुकाम र राष्ट्रियसभा निर्वाचन मिति तोक्न सरकार एक्लैले सक्ने भन्दै त्यसका सहमति जुटाइरहनु नपर्ने धारणा व्यक्त गरेका थिए ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकारले प्रदेश प्रमुख र मुकाम तोक्न सहमतिको प्रयास भइरहेको जनाउँदै सहमति नभए पनि आगामी मन्त्रिपरिषद् बैठकबाट निर्णय लिइने बताए । उनले अन्नपूर्णसँग भने, ‘सरकारले सहमतिकै लागि प्रयास गरिरहेको छ । सहमति नभए पनि आगामी बैठकले यसमा निर्णय लिन्छ ।’



प्रतिक्रिया दिनुहोस्