Logo

विप्लवले भाग खोजेपछि ठेक्का लागेन



काठमाडौं २३ पुस । विप्लव समूहको दबाबमा ट्याम्के-मैयुङ गाउँपालिकामा एउटा पनि ठेक्का परेको छैन। विप्लव समूहले ठेक्काको आधा हिस्सा मागेपछि उक्त प्रस्तावअनुरूप गाउँपालिकामा एउटा पनि आवेदन नपरेको हो।

गाउँपालिकाले मंसिर २० गते सूचना प्रकाशन गरी सडक निर्माण अनि त्यसको स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरेको थियो। पुस २१ गतेको म्यादभित्र एउटा पनि आवदेन नपरेको गाउँपालिका अध्यक्ष धुव्रराज राईले बताए। ‘उहाँहरूले सडक र त्यसको स्तरोन्नतिको ठेक्कामा आधा हिस्सा माग्नुभयो’, अध्यक्ष राईले भने, ‘हामीले एक महिना अवधि राखी बोलपत्र माग गरेका थियौं तर कुनै बोलपत्र पेस भएन।’

जिल्लाभित्र र बाहिरका ३२ वटा फर्मले आवेदन फारम खरिद गरेर लगेका थिए। बोलपत्र पेस गर्ने क्रममा विप्लवका तर्फबाट आधा काम माग्दै प्रस्ताव गाउँपालिकामा आएको र व्यवसायीले प्रस्तावमा सहमति जनाउन नसकेको निर्माण व्यवसायी संघ भोजपुरका अध्यक्ष धर्मराज राईले बताए।

उक्त प्रस्तावअनुसार समूहको ठेक्कामा अधिकार पनि नहुने भएकाले बोलपत्र पेस नगरेको राईको भनाइ छ। प्रक्रियागत प्रतिस्पर्धामार्फत विकास निर्माणमा सहभागिताका लागि काम गर्ने वातावरण बनाउन संघले सरोकारवाला निकायलाई आग्रह गरेको छ।
अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्