Logo

आयोगले संविधानको मर्म विपरीत काम गरेको आरोप



भक्तपुर, २५ पुस । नेकपा एमालेका युवा नेता शेरधन राईले निर्वाचन आयोग देशीविदेशी शक्तिको प्रभावमा परेको आरोप लगाउनुभएको छ । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले आयोगको पछिल्ला गतिविधि हेर्दा यसले संविधानको मर्म विपरीत गएर काम गरिरहेको दोषारोपण गर्नुभयो ।

उहाँले सरकारले जनादेश र संविधान विपरीत गएर आफ्नो आयु लम्बाउने काम गरेको आरोप पनि लगाउनुभयो । अर्को प्रसंगमा उहाँले भन्नुभयो, “वाम गठबन्धन टुटाउन देशीविदेशी शक्ति लागिपरेका छन्, जनताले न्यूनतम पाँच वर्ष सत्ता सञ्चालनका लागि जिम्मेवारी प्रदान गरेकाले अब एमाले र माओवादी पछि हट्दैनन् । ”

प्रदेश सरकारका लागि सबैभन्दा ठूलो आर्थिक समस्या रहेको बताउँदै पूर्वसूचना तथा सञ्चारमन्त्री राईले आफ्ना स्रोत साधनको उपयोग गर्दै भ्रष्टाचारमुक्त देश बनाउन नसके जटिलता थपिँदै जाने भनाइ राख्नुभयो । प्रदेश नं १ को मुख्यमन्त्रीको आफू दाबेदार रहेको बताउँदै उहाँले यसका लागि आफू सक्षम र तयार रहेको जिकिर गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्