Logo

तेह्र प्रजातिका जडीबुटी निकासी



बाजुरा, २५ पुस । हिमाली भेगमा रहेका विभिन्न प्रजातिका जडीबुटी संकलन गरी निकासी गर्न थालिएको छ । हिमाली क्षेत्रमा पाइने सुगन्धवाल, पाषणभेद, च्याउ, चिराइतोलगायतका प्रजातिका जडीबुटी संकलनका लागि ठेकेदारलाई अनुमति दिएर जडीबुटी निकासी गर्न लागेको जिल्ला वन कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७४-७५ मा हरेक मौसममा फरकफरक प्रजातिका जडीबुटी संकलन गर्न अनुमति लिइ निकासी समेत भइसकेको निमित्त जिल्ला वन अधिकृत मनकुमार छन्त्यालले जानकारी दिनुभयो । हिमाली गाउँपालिकाको बिच्छ्या र रुगिन तथा गौमुल गाउँपालिकाकोे दहकोटलगायत क्षेत्रबाट जडीबुटी संकलन गर्ने गरिएको छ ।

मंसिरसम्म १३ प्रजातिका जडीबुटी संकलन भइसकको छ । एउटा जातको जडीबुटी छदेखि आठजना ठेकेदारले संकलनको अनुमति लिने गरेका छन् । सेतक चिनी एक हजार १९ क्विन्टल, साधारण च्याउ ३० क्विन्टल र टिमुर २१ क्विन्टल संकलन गरी नेपालगञ्ज पठाइएको छ ।

यसैगरी, चिराइतो १२ क्विन्टल ५० किलो, काँकडसिंगी ८०० किलो, सुगन्धवाल ५०० किलो, पदमचाल ५०० किलो, कटुकी ४०० किलो, सुनाखरी सुनगाभा १०० किलो तथा सफेज दुई हजार ७०० किलो संकलन गरिएको छ ।

जिल्ला वन कार्यालयले काला दाना ४०० किलो, लोक्ता ५० क्विन्टल र अल्लो एक हजार किलो निकासी गरेको छ । सामुदायिक वन र राष्ट्रिय वनबाट उक्त प्रजातिका जडीबुटी संकलन गर्न पाउने प्रावधान छ ।

राष्ट्रिय वनबाट संकलन गरिएका जडीबुटीको प्रतिकिलो १० प्रतिशत र सामुदायिक वनलाई प्रतिकिलो ७५ पैसाका दरले राजश्व तिर्नुपर्ने प्रावधान रहेको निमित्त वन अधिकृत छन्त्यालले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्