Logo

एकल संक्रमणीय सिक्दै आयोग



काठमाडौं २७ पुस ।  निर्वाचन आयोगमा बुधबार अपराह्न मतगणना भइरहेको थियो। मेञ्चमा मत गणना गर्नेहरू थिए भने त्यसको ठीक तल उम्मेदवारहरू लहरै कुर्सीमा बसेर कागजमा आफू र आफ्ना प्रतिस्पर्धीले पाएको मत टिपिरहेका थिए। टेबलमा दुई रङका मतपेटिका थिए। लहरै प्रदेशअनुसारका उम्मेदवार पनि।

जितिन्छ कि हारिन्छ ? मतगणनास्थलमा उम्मेदवारहरू उत्सकुताका साथ बसिरहेका थिए। गणनास्थलमै तत्काल प्राप्त मत कोटाभन्दा थोरै पाए पनि मत संक्रमण गर्दा उम्मेदवार विजयी भए। बराबर मत पाएकालाई तत्कालै गाई र त्रिशूल विधि (गोला) विधिबाट निर्वाचित घोषणा गरियो। विजयीलाई बधाई पनि ज्ञापन गरियो। बन्द कोठाभित्रै तात्तातै जनमत बुझ्ने कामप्रति सबैको उस्तै उत्साह देखिन्थो।

स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भइसकेपछि पनि आयोगमा तीन दिनयता यसरी मतणना भइरहेको छ। एकल संक्रमणीय विधिबाट मतगणना कसरी गर्ने भन्नेबारे कर्मचारीलाई ज्ञान दिन आयोगमा भइरहेको तालिम रोचक थियो। मतदाता र गणक गरी दुई दर्जन कर्मचारीलाई यस्तो विधिको बारेमा आयोगका विज्ञ देवेन्द्रलाल काररञ्जितले तीन दिनयता सिकाइहेका छन्।

एकल संक्रमणीय प्रणालीमा कसरी मत हालिन्छ र कसरी गणना गरिन्छ भन्नेबारे धेरै अनविज्ञ छन्। त्यही कारण पनि अगामी माघ २४ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि आयोगले एकल संक्रमणीय विधिबाट निर्वाचन गराएरै गणना विधिबारे बुझाउने काम गरिरहेको प्रवक्ता नवराज ढकालले बताए। तथ्यांक विभागका कर्मचारीलाई मतगणना कसरी गर्ने र मत कसरी टन्सर्फर गर्र्ने आदि विधिबारे राम्रोसँग बुझाउने काम भइरहेको छ।

कर्मचारी पनि यस्तो तरिकाबारे जिज्ञासु देखिन्थे। तथ्यांकशास्त्रमा ज्ञान भएकाले मात्रै यसलाई राम्रोसँग प्रयोग गर्न र बुझाउनसक्ने भएकाले पनि तथ्यांक विभागकै कर्मचारीलाई मतगणनामा समावेश गर्न लागिएको आयोगको भनाइ छ। ‘यो नौलो विधि भएकाले पहिले जनशक्तिलाई बुझाउन जरूरी छ। अनि मात्रै उनीहरूले अरूलाई बुझाउन सक्छन्’, ढकालले भने। उनका अनुसार मुख्य निर्वाचन अधिकृत र उम्मेदवारका लागि पनि यसबारे तालिम दिइनेछ।

एकल संक्रमणीय प्रणालीमा कसरी मत हालिन्छ र कसरी गणना गरिन्छ भन्नेबारे आयोगकै कर्मचारी अनविज्ञ छन्।

०४८ सालमा एकल संक्रमणीय विधिबाटै राष्ट्रियसभा निर्वाचन भए पनि अहिले अनुभवी कर्मचारी नहुँदा आयोगले जनशक्तिलाई दक्ष पार्न लागेको हो। ‘धेरै जटिल विधि होइन, केही मुलुकमा स्थानीय तहमा समेत यो विधिबाट निर्वाचन हुन्छ’, प्रवक्ता ढकालले भने। निर्वाचनका लागि पहिले कर्मचारीलाई बुझाएपछि मात्रै मतदाता तथा उम्मेदवारलाई त्यसबारे तालिम दिने उद्देश्यले आयोगले यसको तयारी गरेको हो। उनीहरू नै निर्वाचन तयारीका लागि तालिम दिनुका साथै मतगणनाका लागि खटिनेछन्। मतगणना सफ्टवेयरबाट नगर्ने निष्कर्षमा आयोग पुगेको छ। यो विधिबारे बुझाउन र पारदर्शी भएको उम्मेदवारलाई विश्वास दिलाउन पनि मानिसले नै गणना गर्न लागिरहेको आयोगको भनाइ छ। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्