Logo

सोनाम ल्होछारको तिथि विवादित :आज टुँडिखेलमा ल्होछार नहुने



काठमाडौं ४ माघ । यो वर्षको सोनाम ल्होछारको तिथि विवादले तामाङ समुदायमा राष्ट्रिय चाडप्रति अन्योल छाएको छ । नेपाल राष्ट्रिय तामाङ घेदुङले (२०७४ साल) माघ ४ मा र नेपाल तामाङ घेदुङले फागुन ४ गते हुने फरकफरक तिथि घोषणा गरेपछि अन्योल भएको हो ।

दुई संस्थाबीच विवाद बढेपछि बिहीबार राजधानीको टुँडिखेलमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन हुने भनिएको ‘२८५४ औं खि–ल्हो (कुकुर वर्ग) सोनाम ल्होछार’हुन नसक्ने भएको छ। टुँडिखेल नेपाली सेनाको मातहतमा रहेको छ। राष्ट्रिय तामाङ घेदुङअन्तर्गत बनेको ल्होछार आयोजक समितिले माघ ४ गतेका निम्ति स्थान उपलब्ध गराउन माग गरेको थियो।

त्यसैगरी, नेपाल सांस्कृतिक कला केन्द्रले पनि त्यसै दिन टुँडिखेलमै कार्यक्रम आयोजना गर्न माग गरेपछि दुवै पक्षलाई ठाउँ उपलब्ध गराउन नसक्ने सैनिक स्रोतले जनाएको छ। टुँडिखेलमा ठाउँ उपलब्ध नहुने भएपछि प्रदर्शनी मार्गमा मनाउने नेपाल राष्ट्रिय तामाङ घेदुङका कार्यवाहक महासचिव प्रवीणकुमार बलले कान्तिपुरलाई बताए।
नेपाल पञ्चाङ्ग निर्णायक समितिअन्तर्गत निर्मित पात्रोमा सोनाम ल्होछार यो वर्ष माघ ४ गते र फागुन ४ गते ग्याल्बो ल्होछार उल्लेख छ। तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले प्रत्येक वर्ष ल्हो परम्परामा रहेर मन्जुश्री तत्त्व ज्योतिष पात्रोअनुसार पहिलो महिना (ख्रे ला छेपागी) अर्थात् वर्षको पहिलो दिन १ गते मान्ने र त्यो तिथि यस पटक विक्रम संवतको फागुन ४ गते परेकाले भ्रममा नपर्न गत पुसमै पत्रकार सम्मेलन गरी आग्रह गरेका थिए। ‘तामाङले मान्ने संवतअनुसार यो वर्ष खि–ल्हो फागुन ४ गते मनाउने तयारीमा रहेकाले माघ ४ गते भनेर नझुक्किन अनुरोध गर्दछु,’ विक्रम संवतको क्यालेन्डरमा माघ ४ गते सोनाम ल्होछार उल्लेख भएकाले बिदा सच्याउन सरकारसँग माग गरेको समेत अध्यक्ष गोलेले जनाएका छन्। घेदुङले बिदा सार्न माग गरे पनि सरकारले माघ ४ गतेलाई नै सार्वजनिक बिदा कायम गरेको छ।

तामाङ घेदुङले ०७२ सालदेखि सोनाम ल्होछार निर्धारण गर्ने सोनाम लोथो (कृषि पात्रो) अनुसार ल्होछार मनाउँदै आएको छ। उक्त पात्रोअनुसार चन्द्रमास ख्रे–ला छेपागी यो वर्ष फागुन ४ गते परेको घेदुङका अध्यक्ष गोलेले स्पष्ट पारेका छन्।

विगतदेखि नै घेदुङको आयोजनामा हुने ल्होछारलाई विश्वभरिका तामाङ जातिले आधिकारिक मान्दै आएका छन्। सोनाम ल्होछार पर्वबारे तामाङ समुदायभित्र ०५१ सालदेखि विवाद जारी छ। तामाङ समुदायमा तिथिमिति मात्र नभई ग्याल्बो र सोनाम ल्होछार कुनलाई मान्ने भन्नेमा समेत विवादमा रहेको जनाइएको छ।
कान्तिपुरमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्