Logo

चलचि ‘लालपुर्जा’ र ‘पिंजडा’ प्रदर्शनमा



काठमाडौं, ५ माघ । बिहीवारबाट उपत्यका बाहिरका हलहरुमा प्रदर्शन भएका दुई नेपाली फिल्म ‘लालपुर्जा’ र ‘पिंजडा ब्याक अगेन’ले शुक्रवारबाट राजधानी भित्रका हलहरुमा पनि प्रदर्शन सुरु गरेका छन् ।

रिलिज पूर्व गरिएको विशेष शो मा यी दुई फिल्मले चलचित्रकर्मीबाट उत्कृष्ट प्रतिक्रिया बटुलेका थिए । ‘लालपुर्जा’ले जग्गाका लागि हुने दुई दाजु(भाईको कथा बोल्छ भने ‘पिंजडा ब्याक अगेन’ फेमिली ड्रामा फिल्म हो ।

‘लालपुर्जा’मा सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, मिरुना मगर, हरिहर शर्मा, कामेश्वर चौरासिया, कमलमणी नेपाल, अनिल पाण्डे लगायतका कलाकारहरुको अभिनय छ । चर्चित लेखक कुमार नगरकोटी र नायिका सृष्टि श्रेष्ठको पनि फिल्ममा गेस्ट रोल छ ।

निगम श्रेष्ठ निर्देशित यो फिल्मका छायाँकार नरेन्द्र मैनाली हुन् । पटकथा भने सुजित बिडारीले तयार पारेका हुन् । नेगेटिभ बुद्धको व्यानरमा निर्मित फिल्ममा लोकेश बज्राचार्यको सम्पादन, बिक्रमसिंह थारु र उमेश श्रेष्ठको लगानी छ ।

यस्तै, ‘पिंजडा ब्याक अगेन’मा निखिल र सारा सिपार्ली मुख्य भूमिकामा छन् । फिल्मका निर्देशक हिमाल केसी हुन् । फिल्मलाई ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको हो ।



प्रतिक्रिया दिनुहोस्