Logo

कांग्रेस, फोरम र राजपाबीच तालमेल



काठमाडौं ११ माघ ।
राष्ट्रियसभा चुनावमा कांग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच गठबन्धन भएको छ। तीन दलबीच राष्ट्रियसभामा चुनावी एकता गर्ने सर्तमै सरकारले फोरमका रत्नेश्वरलाल कायस्थलाई प्रदेश २ र उमाकान्त झालाई प्रदेश ५ को प्रमुखमा नियुक्त गरेको थियो।

प्रदेश २ मा कांग्रेस, राजपा र संघीय फोरमले चुनावमा दुई/दुई जना उम्मेदवार भागबन्डा गरी उम्मेदवारी दिने सहमति गरेका छन्। अन्य प्रदेशमा पनि फोरम र राजापले कांग्रेसी उम्मेदवारलाई मत दिने सहमति भएको जानकारी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिए। कांग्रेसले सोही सहमतिअनुसार प्रदेश २ मा जितेन्द्रनारायण देव (खुला) र मुक्ताकुमारी यादव (महिला) लाई उम्मेदवारी बनाएको छ।

प्रदेश ३ मा कांग्रेस उम्मेदवार राधेश्यम अधिकारीलाई नयाँ शक्ति र विवेकशील साझा पार्टीले पनि सघाउनेछन्।वाम गठबन्धनका दुई दल एमाले र माओवादी केन्द्रले गठबन्धनकै आधारमा उम्मेदवारी दिएका छन्।

राजपा अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले आफ्नो पार्टीको तर्फबाट प्रदेश २ मा वृषेशचन्द्र लाल र रमेश यादवलाई उम्मेदवारी दिइएको बताए। उनले भने, ‘यस प्रदेशमा कांग्रेस, फोरम र राजपाले एकअर्कालाई मतदान गर्ने सहमति भएको छ। तीन शक्ति बीचको यो गठबन्धन राष्ट्रियसभा चुनावका लागि हो।’

फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रियसभा चुनावको हकमा आफूहरूले प्रदेश २ मा मात्र नभई अन्य प्रदेशमा पनि कांग्रेसलाई मत दिने निर्णय गरेको बताए। ‘प्रदेश २ कै हकमा भन्दा तीन शक्तिबीचको समीकरण आवश्यक छैन। यहाँ वाम गठबन्धन, कांग्रेस, राजपा, फोरम चारै दलले दुई/दुई सिट जित्छन्’, उनले भने। फोरमले प्रदेश २ मा प्रमिला यादव र रामप्रित पासवानलाई उम्मेदवार तोकेको छ।

नयाँ शक्तिका संगठन विभाग प्रमुख गंगाराम श्रेष्ठले प्रदेश ३ मा कांग्रेसका उम्मेदवार राधेश्याम अधिकारीलाई मत दिने निर्णय भएको बताए। अन्य प्रदेशमा पार्टी प्रदेश प्रमुखले आफ्ना अनुकूल निर्णय गर्न छुट छ।

राष्ट्रिय प्रजातन्त्र पार्र्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले राष्ट्रियसभामा आफूहरूले कसलाई मतदान गर्ने भन्ने निर्णय भइनसकेको बताए। विवेकशील साझा पार्टीका नेता प्रकाश परियारले काठमाडौंको हकमा राधेश्याम अधिकारीलाई मतदान गर्ने निर्णय भएको जनाए।
अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्