Logo

गुन्डा नाइके चक्रे मिलनलाई सफाइ



काठमाडौं ११ माघ । विशेष अदालतले काठमाडौंका गुन्डा नाइके चक्रे मिलनलाई सम्पत्ति शुद्धीकरणको अभियोगबाट सफाइ दिएको छ । विशेष अदालतका सदस्यहरू रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठको इजलासले चक्रे मिलनसहित २ जनामाथि सम्पत्ति शुद्धीकरण विभागको आरोपमा दाबी नपुग्ने फैसला सुनाएको हो।

चक्रे मिलनसहित ५ जनाविरुद्ध २०७० जेठ ५ मा छुट्टाछुट्टै रूपमा सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको थियो। विभागले ७ करोड रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोगमा चक्रे मिलनलाई सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको थियो। पाँचवटा छुट्टाछुट्टै मुद्दामध्ये यसअघि नै दीपक मनाङेले सफाइ पाइसकेका छन्। सोही दिन गणेश लामा, अभिषेक गिरी र परशुराम बस्नेतविरुद्ध समेत मुद्दा दर्ता भएको थियो।

विभागको निर्देशनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सम्पत्ति शुद्धीकरण अभियोगमा अनुसन्धान गरेर आरोपपत्र तयार गरेको थियो। प्रहरीले चक्रे मिलनका नाममा काठमाडौंका विभिन्न ठाउँमा जग्गा भेट्टाएको थियो। उक्त सम्पत्ति आपराधिक क्रियाकलापबाट आर्जन भएको प्रहरीको दाबी थियो। गोरखाको जग्गासमेत गैरकानुनी रूपमा आर्जन गरेको आरोप प्रहरीको थियो। विभागले मिलनमाथि करिब ७ करोड रुपैयाँ बिगो मागदाबी गरेको थियो।



प्रतिक्रिया दिनुहोस्