Logo

मेलम्चीको पानी ल्याउन अझै ४ महिना लाग्ने



काठमाडौं १५ माघ । सिन्धु खण्डमा सुरुङ खन्न समस्या हुँदा मेलम्चीको पानी काठमाडौं उपत्यका आइपुग्न अझै ४ महिना ढिला हुने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार ग्यालथुम–सिन्धु खण्डमा कमजोर चट्टान भएकाले सुरुङ खन्न ढिलाइ भएको छ ।

आयोजनाका निर्देशक रामचन्द्र देवकोटाले कमजोर चट्टान हुँदा सुरुङमा विस्फोट गर्न समस्या आएको बताए । ‘विस्फोटक पदार्थ प्रयोग गर्दा त्यसले कति क्षेत्र ओगट्छ भन्ने अनुमान गर्न गाह्रो छ,’ उनले भने, ‘स्काभेटर प्रयोग गरेका छौं, संवेदनशील पनि उत्तिकै छ तैपनि ठेकेदारलाई चाँडो पूरा गर्न निर्देशन दिएका छौं ।’

आयोजनाका अनुसार सुरुङ खन्न अब ३ सय २१ मिटर मात्र बाँकी छ । तर, स्काभेटर प्रयोगले पनि डेढ महिनाभित्र ग्यालथुम–सिन्धु खण्ड ‘ब्रेक थ्रु’ गरिने उनले बताए । सुन्दरीजलदेखि सिन्धुसम्म करिब ९ किमि सुरुङ खन्ने काम १ वर्षअघि पूरा भइसकेको छ । त्यसैगरी एक महिनाअघि अम्बाथान–ग्यालथुम ९ किमि सुरुङ ब्रेक थ्रु भइसकेको छ । सरकारले गत असोजमा मेलम्चीको पानी उपत्यका ल्याउने प्रतिबद्धता जनाएको थियो । पटक–पटक प्रतिबद्धता फेर्दै आएको सरकारले नयाँ वर्षको सुरुमै उपत्यकामा पानी ल्याउने दाबी गरेको छ । ‘सिन्धु अडिटदेखि सुन्दरीजलसम्म सबभन्दा लामो सुरुङखण्ड हो, त्यो जोडिइसक्यो । सम्पूर्ण सुरुङको ९० प्रतिशत काम पूरा भइसकेको छ । अम्बाथानमा हेडवर्कको निर्माण पनि तीव्र गतिमा भइरहेको छ,’ उनले भने, ‘सबैतिर काम सन्तोषजनक रूपमा भइरहेको छ ।’

तीनवटा अडिटमध्ये सुन्दरीजल–सिन्धु (साढे ९ किमि), सिन्धु–ग्यालथुम (८ किमि) र ग्यालथुम–अम्बाथान अडिट (९ किमि) छ । ‘सुरुङको भित्री ढलानदेखि त्यसको संरचना बलियो बनाउनुपर्छ, त्यो काम पनि भइरहेको छ,’ उनले भने, ‘सुरुङ खन्नेबित्तिकै पानी आउँछ भन्ने होइन ।’ त्यसैगरी ३ स्थानमा सुरुङभित्रको हावा बाहिर निकाल्न भेन्टिलेटर निर्माणका लागि जग्गा मुआब्जा तथा अन्य कानुनी प्रक्रिया पनि पूरा गरिसकिएको उनले बताए । सिन्धु, शिवपुरी वन्यजन्तु आरक्ष र ग्यालथुम खण्डमा भेन्टिलेटर निर्माण हुने आयोजनाले जनाएको छ ।

दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट पानी ल्याउने तयारीसमेत भइरहेको उनले बताए । ‘१ वर्षभित्र याङग्री र लार्केमा सुरुङको डीपीआर तयार हुन्छ,’ उनले भने, ‘डीपीआर तयार हुनेबित्तिकै निर्माण अघि बढ्छ ।’ मेलम्चीबाट याङग्रीबीचको सुरुङको लम्बाइ ९ किमि र याङग्री–लार्केबीचको सुरुङको लम्बाइ करिब २ किमि रहेको आयोजनाले जनाएको छ । याङग्रीसम्म सडकको पहुँच भए पनि लार्केमा पुर्‍याउन कठिन रहेको उनले बताए । मेलम्चीदेखि लार्केबीचको सुरुङको लम्बाइ ११ किमि छ । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी टयांकीमार्फत उपत्यकाका ३५ लाख बढी जनतालाई समानुपातिक ढंगले वितरण गरिने उनले बताए । १७ करोड मेलम्ची, १७ करोड याङग्री र १७ करोड लार्के गरी दैनिक ५१ करोड लिटर पानी उपत्यकामा ल्याइनेछ । हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सुन्दरीजललगायत विभिन्न स्थानबाट ल्याएको पानी वितरण गर्दै आएको छ ।

केयूकेएलले उपत्यकामा दैनिक ३८ करोड लिटर पानी आवश्यक भए पनि १२ करोड लिटर मात्र आपूर्ति गर्दै आएको छ । बर्खामा भने उपत्यकामा १७ करोड लिटर पानी आपूर्ति हुन्छ । त्यसैगरी खानेपानीको समानुपातिक वितरणका लागि ८० हजार धारा जडान भइरहेको खानेपानी आयोजना निर्देशनालयका निर्देशक त्रिरेशप्रसाद खत्रीले जानकारी दिए । जसमध्ये ४० हजारभन्दा बढी धारा जडान भइसकेका छन् । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्