Logo

सामूहिक बलात्कार ढाकछोप प्रकरण : डीएसपी भारती परिसर तानिँदै, सई निलम्बित



काठमाडौं १८ माघ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले ‘सामूहिक बलात्कार’ को उजुरी दर्ता नगरी गुपचुप मिलाउन खोजिएको प्रकरणमा दरबारमार्ग वृत्तका डीएसपी तिलक भारतीलाई आफ्नो कार्यालयमा तान्ने भएको छ । परिसरले भारतीलाई जिम्मेवारीमुक्त गरेर अनुसन्धानमा तान्न प्रहरी प्रधान कार्यालयलाई मंगलबार पत्र लेखेको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले पनि दरबारमार्ग घटनाबारे छानबिन गर्न एसएसपी पूर्णचन्द्र जोशीको संयोजकत्वमा छानबिन टोली गठन गरेको छ । कार्यालय प्रमुख एआईजी जयबहादुर चन्दले समितिले घटनाबारे गम्भीर छानबिन गर्ने बताए । कार्यालयले बुधबारै दरबारमार्ग वृत्तको मुद्दा शाखामा कार्यरत सई चन्द्र भण्डारीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको छ । स्रोतका अनुसार भण्डारीले मुद्दाको अनुसन्धान अघि बढाउनभन्दा मिलाउन भूमिका खेलेका थिए ।

‘पीडित युवतीका प्रेमी शैलेशका बाबु र युवतीलाई राखेर सई भण्डारी र इन्स्पेक्टर ठकुरीले ‘घटना अघि बढे दु:ख हुने’ भन्दै मिलापत्र गराएका थिए’
प्रहरी स्रोतका अनुसार ‘सामूहिक बलात्कार’ मा परेकी युवतीका प्रेमी भनिएका व्यक्ति शैलेश कार्की भएको खुलेको छ । कान्तिपुरले प्राप्त गरेको प्रमाणअनुसार रामेछाप, दुरागाउँका शैलेश आमाबाबुसँगै राजधानी बस्दै आएका छन् । घटना भएको स्थान दरबारमार्गको होटल स्रोतका अनुसार शैलेशका साथी दीपक श्रेष्ठले होटलमा कोठा बुक गरेका थिए । आफू सामूहिक बलात्कारमा परेको र पीडकहरू होटलमै रहेको भन्दै पीडित युवती कमलपोखरी वृत्त पुगेपछि वृत्तको टोली तत्कालै उक्त होटल पुगेको थियो । त्यतिबेलासम्म होटलबाट युवाहरू फरार भइसकेका थिए । त्यसयता चारै जना आरोपितको मोबाइल फोन ‘अफ’छ ।

उक्त घटनाबारे आफूलाई जानकारी नभएको बताइरहेको दरबारमार्ग वृत्तको उक्त घटनामा सन्देहास्पद भूमिका रहेको थप तथ्य खुलेको छ । पीडित युवतीसहित कमलपोखरी वृत्तको टोली होटल पुगेको केहीबेरमा दरबारमार्ग वृत्तको टोली पनि अनुसन्धानका लागि भन्दै होटल पुगेको थियो । दरबारमार्ग वृत्तबाट खटिएको ६ जनाको टोली होटलको बाहिरी घेराको सुरक्षामा खटिएको थियो । मुद्दा शाखाका सई भण्डारीलगायतको टोली भने होटलभित्रको कोठा चेकजाँचमा पुगेको थियो ।

स्रोतका अनुसार दरबारमार्ग वृत्तले मुचुल्का उठाइसकेपछि दुई प्रहरी र ल्यान्डमार्क होटलका एक कर्मचारीले युवतीलाई उनको कोठासम्म पुर्‍याइदिएका थिए । युवतीले आफ्नो ब्वाइफ्रेन्ड शैलेश र होटलमा राति बसेका अर्का एक युवाको फोटोसमेत होटलका कर्मचारीलाई देखाएकी थिइन् ।

घटनास्थलको मुचुल्का उठाइसकेपछि सई भण्डारी र मुद्दा शाखाकै इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरी घटना अनुसन्धानभन्दा मिलाउनेतिर लागेको स्रोतको दाबी छ । घटनाको तेस्रो दिन शैलेशका बाबु घटना मिलाउने भन्दै दरबारमार्ग वृत्तमा पुगेको र इन्स्पेक्टर ठकुरीले घटना अघि बढे दु:ख हुने भन्दै पीडित युवती र शैलेशका अभिभावक राखेर मिलापत्रसमेत गराएका थिए ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्