Logo

सैतानी ब्याजको पासो : ऋणीलाई घरभित्र थुनेर कुटपिट



काठमाडौं २१ माघ ।
चर्को चक्रीय ब्याजदरमा ऋण दिने र ऋणीका नाममा फर्जी कागज बनाएर आर्थिक शोषणको श्रृंखला चलाइरहेका श्याम प्रदेशीले ऋणीलाई मरणासन्न हुने गरी कुटेका छन् । शुक्रबार ऋण तिर्न प्रदेशीको हरिपुर नगरपालिका २ स्थित घर पुगेका रामदयाल महतोलाई उनले घरभित्रै थुनेर मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।

प्रदेशीले सैतानी ब्याजको पासो थापेर ३ सयभन्दा बढी अति विपन्न दलित समुदायमाथि आर्थिक शोषणको शृंखला चलाएका थिए । घाइते महतोलाई प्रहरीले उद्धार गरी हरिऔनस्थित नमुना अस्पतालमा उपचारका निम्ति पुर्‍याएको थियो । एक दिनको उपचारपछि उनी घर फर्केका छन् ।
करिब तीन वर्षअघि महतोले प्रदेशीसँग सात लाख रुपैयाँ ऋण लिएका थिए । महतोका अनुसार यो अवधिमा उनले घरखेत नै बेचेर ४० लाख रुपैयाँ बुझाइसकेका छन् । महतो पाँच लाख रुपैयाँ लिएर बाँकी ऋण चुक्ता गर्न प्रदेशीको घर पुगेका थिए । प्रदेशीले यति पैसा बुझाएर मात्रै हिसाब चुक्ता नहुने भन्दै आफूले गरेको हिसाबअनुसार सबै पैसा चुक्ता गर्नुपर्ने भन्दै धम्क्याएका थिए । प्रदेशीले साँवा ब्याज गरेर ९० लाख रुपैयाँ पुगिसकेको र सबै पैसा नतिरे उठिबास लगाइदिने भन्दै धम्क्याउँदै कुटपिटमा उत्रिएका थिए । ढोका थुनेर मुक्कैमुक्काले निरन्तर कुटेपछि महतो बेहोस भएका थिए । ‘कुटाइबाट म बेहोस भएछु,’ उनले भने, ‘होस आउँदा म एक्लै थिएँ । ५ लाख रुपैयाँ पनि लगेछन् । मोबाइल साथमै थियो । फोन गरेर घरमा सूचना गरें । घरका सदस्यले प्रहरीलाई सूचना गरेपछि मेरो उद्धार भयो ।’

उद्धारका लागि पिपरिया पुगेका हरिपुर इप्रकाका प्रहरी नायब उपरीक्षक गोविन्द खवासले कुटपिटपछि प्रदेशी मोटरसाइकलमा भागेको बताए । प्रहरी पुग्दा प्रदेशीको घरमा स्थानीयको भीड जुटेको थियो । प्रदेशीले ऋणीलाई ज्यादती गर्ने गरेको भन्दै स्थानीयले कडा कारबाही गर्नुपर्ने माग राखेका थिए । खवासले मोटरसाइकलमा चढेर प्रदेशी भारततर्फ भागेको सूचना आएको बताए । उनले परदेशीको खोजी तीव्र पारिएको उल्लेख गरे । महतोले प्रदेशीसँग लिएको ऋणले घरबार बेच्नुपरेको र झन्डै ज्यान गुमाउने अवस्था आएको बताए । कुटपिट हुँदा प्रदेशीका सहयोगी गणेश शाह पसन सँगै थिए । गणेशले पनि आफूलाई बचाउने प्रयास नगरी उल्टै प्रदेशीलाई साथ दिएको महतोले बताए । ‘आइतबार ज्यान मार्ने उद्योगमा उजुरी दिन्छु,’ उनले भने, ‘लोकतन्त्रमा यस्तो अन्याय अहिलेसम्म सुनेकै थिइनँ, आफैंले भोग्नुपर्‍यो ।’

अघिल्लो महिना मात्रै प्रदेशीले सैतानी मिटर ब्याजको पासो थापेर घरबास उठिबास लगाउन आँटेको भन्दै सर्लाहीको जब्दी र पिपरिया गाउँका ३० महिलासहित ३६ जना न्यायको खोजीमा राजधानी पुगेका थिए । जिल्ला अदालत सर्लाहीका अनुसार प्रदेशी र उनको परिवारका नाममा जारी लेनदेनको ५० मुद्दामा प्रदेशीको पक्षमा फैसला गरी अदालतले ३५ दिने पुनरावेदनको म्याद जारी गरिसकेको छ । प्रदेशीले दायर गरेको ३५ मुद्दा अदालतमा विचाराधीन छन् । प्रदेशीले थापेको सैतानी ब्याजको पासोमा परेका दुई ऋणीले अहिले कैद सजाय भोगिरहेका छन् । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्