काठमाडौं २२ माघ ।
गत माघ १० गते ८ वर्षीया बालिका बलात्कारको शिकार बनिन। काठमाडौंबाट ८ घण्टाको बाटो तय गर्नुपर्ने पूर्वको खोटाङमा उनलाई आफ्नै काका १६ वर्षीय जिउधन राइले बलात्कार पश्चात हत्या गरे। उनको शव छिमछिमा खोलाको किनारबाट प्रहरीले बरामद गरेको थियो। दुई महिना अगाडि कात्तिक ९ गते ६ वर्षीय बालिका बलात्कार गरेको आरोपमा ५२ वर्षीय देवी प्रसाद अधिकारी र २२ वर्षीय चिज वहादुर गुरुङ चितवनबाट पक्राउ परे।
यी दुई घटना देशमा मौलाउँदै गरेको बलात्कारको उदाहरण मात्रै हुन्। गएको ७ वर्षमा मात्रै ६ हजार ६ सय २७ जना बलात्कारको शिकार भएको नेपाल प्रहरीले बताएको छ। जसमध्ये ४ हजार ५ सय ८९ जनाको बलात्कारपछि उद्धार गरिएको छ भने २ हजार ३८ जनाको बलात्कारपछि हत्या गरिएको रेकर्डमा उल्लेख छ। प्रत्येक वर्ष ९ सय ४६ तथा प्रत्येक महिना ७८ जना बलात्कारको शिकार हुने रिपोर्टमा उल्लेख छ।
यो दर सन् २०११ मा १८ रहेकोमा सन् २०१२ मा बढेर १२९ पुगेको सेन्ट्रल रिजनले बताएको छ। तराई तथा विकट ग्रामिण भेगमा बलात्कारको घटना बढ्दै गएपनि यस्ता धेरै घटनाहरु गुपचुप रहने गरेका छन्। बलात्कारको घटनामा पीडित आफैले आत्मग्लानी तथा कतिपय अवस्थामा परिवारले समाजमा हुने बदनामीको कारणले पनि यस्ता घटना सतहमा ल्याउन नदिएको प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताइन्।
एक तथ्याङ्कले बताएअनुसार बलात्कारको घटनाहरुको बारेमा प्रहरीमा उजुरी बढेसँगै बलात्कारको घटना पनि बढिरहेको छ। तथ्याङ्कले पूर्वी नेपालमा सबैभन्दा धेरै १ हजार ३ सय ४३ जनाको बलात्कार तथा ५ सय ८९ जनाको बलात्कार पश्चात हत्या गरिएको छ। त्यस्तै पश्चिम नेपालमा २ सय ७७ जना बलात्कारको शिकार भएका छन् भने १३८ जनाको बलात्कार पश्चात हत्या गरिएको छ। काठमाडौं उपत्यकामा मात्रै ६ सय १० जनाले बलात्कारको उजुरी दर्ता गरेका थिए भने १ सय ५५ जनाको बलात्कार पश्चात हत्या गरिएको तथ्यांकमा उल्लेख छ।
नागरिकबाट