Logo

सुर्खेतमा कोठाभाडा काठमाडौं भन्दा महँगो, सांसदहरु कोठा खोज्नमा व्यस्त



सुर्खेत, २३ माघ । ६ नम्बर प्रदेशको अस्थायी राजधानी वीरेन्द्रनगरमा प्रदेशसभा सदस्यले बस्नको लागि कोठा खोज्न थालेका छन् । तर, उनीहरु कोठाभाडा पाउनै मुस्किल छ, पाइहाले पनि अतिमहँगो तिर्नुपरेको बताउँछन् । ६ नम्बर प्रदेशमा ४० सांसद छन् । वीरेन्द्रनगरमा घर भएका करिब सातजना सांसदबाहेक अरु सांसदले कोठा भाडा लिएर बस्नुपर्ने बाध्यता छ ।

मुगुबाट समानुपातिक तर्फ निर्वाचित प्रदेशसभा सदस्य झोवा कामीले आफूले सुर्खेतमा उपयुक्त कोठा नपाएको बताइन् । उनले भनिन्, ‘अस्ति देखि नै कोठा खोज्न थालेको, भेटाउन सकेकी छैन ।’ उनले कोठा नपाँउदा आर्थिक समस्यासमेत भएको बताइन् । ‘मुगुबाट धेरै व्यक्ति आएका छन्, सबैलाई होटलमा बस्ने व्यवस्था मिलाएँ, तर होटलमा भने महँगो पैसा तिर्नु परिरहेको छ ।’ उनले होटलमा आफूहरुलाई बस्न समेत अप्ठ्यारो भएको बताइन् ।

कालीकोटबाट प्रदेससभा सदस्यमा निर्वाचित प्रदेशसभा सदस्य कुर्मराज शाहीले सुर्खेतमा काठमाडौंभन्दा बढी भाडा भएको गुनासो पोखे । प्रतिनिधिसभा सदस्यले जस्तै प्रदेशसभा सदस्यलाई राज्यले स्रोतसाधन नदिएको र कोठाभाडा नदिँदा घरबाट ल्याएर चलाउनु परेको उनीहरुको भनाइ छ । सुर्खेतमा सामान्यतयाः सानो कोठाको मासिक तीन हजार भाडा पर्छ । एकजना सांसदले कम्तिमा तीन कोठा लिनुपर्छ । बिजुली बिल तिर्दा करिब ११ हजार मासिक खर्च हुन्छ ।

जाजरकोटबाट निर्वाचित कृष्णा शाह आचार्यको पनि उस्तै पीडा छ । उनले वीरेन्द्रनगरमा तीनवटा कोठा त भाडामा लिइन्, तर भाडा कसरी तिर्ने भन्ने चिन्ता लागेको छ । वीरेन्द्रनगरमा बस्दा मासिक करिब २० हजार खर्च हुने उनको भनाइ छ । ‘त्यो पैसा कसरी घरबाट ल्याउने,’ उनले भनिन्, ‘सांसद त भइयो, कसरी खर्च धान्ने भन्ने चिन्ता लाग्न थालेको छ ।’

दैलेखबाट निर्वाचित सांसद राजबहादुर शाहीले अहिले आफूले कोठा नखोजेको बताए । ‘पहिले सरकार गठन होस, सबै काम सम्पन्न होउन्,’ उनले भने, ‘अनिमात्र कोठा खोजेर व्यवस्थित रुपमा बस्छु ।’ उनी अहिले सुर्खेतमा आफन्तकोमा बसिरहेका छन् । कालिकोटकी सांसद शोशीला शाहीले कोठा खोज्दा–खोज्दा हैरान भएको बताइन् । ‘अहिलेसम्म होटलमै बास छ, महँगो खाना र कोठा भाडाका कारण आर्थिक समस्या भयो,’ उनले थपिन्, ‘जनता र कार्यकर्ता आफूहरुलाई भेट्न आउने हुँदा थप खर्च बढेर गएको छ ।’



प्रतिक्रिया दिनुहोस्