काठामाडौ, २४ माघ । जाजरकोटको ऐतिहासिकतासंग जोडिएका रैथाने लोक नृत्य तथा संस्कृतिको काठमाण्डौं टुडीखेलमा आगामी फागुन २९–३० गते प्रथम राष्ट्रिय प्रदर्शनी गरिने भएको छ । जिल्लाको परिचयलाई बदलेर पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन तथा रैथाने लोक नृत्यलाई राष्ट्रियकरण गर्नका लागि काठमाण्डौं टुडीखेलमा प्रर्दशनी गरिने भएको हो ।
२ सय ९१ जनाको ज्यान लिने २०६६ सालको झाँडापखाला, ३५ जनाको प्राण लिने २०७१-०७२ को ईन्फुलुएन्जा प्रकोप, यसै बर्षको पुसको तेश्रो सातामा १४ जनाको ज्यान लिने भाईरल ज्वरोको महामारीले सुपरिचित जाजरकोटको बिषाक्त बसन्ती हावा संसारभरी फैलिएको छ । ५४ जनाको ज्यान जाने गरि २०७१ मंसिर ४ गते भएको भेरीनदी बस दुर्घना, २६ जनाको ज्यान जानेगरी २०७३ फागुन २६ गते भएको बोहरा बस दुर्घनाले अझै पनि जाजरकोट संसारका सामु अनकन्टार विकट र दुर्गमको सुचीवाट बाहिर आउन सकेको छैन । यहि दुखद परिचयमा सिमित रहेको जाजरकोटलाई प्रथम बिश्वयुद्धमा १ सय ५० जना जाजरकोटी युवा सहभागि भएर बीरता प्रदर्शन गरेको इतिहाससंग जोड्न काठमाण्डौं टुडीखेलमा प्रथम राष्ट्रिय प्रदर्शनी गर्न लागेको मेला आयोजक मुल समारोह समितिले जनाएको छ ।
इस्वी सम्वत १८१४ देखि १६ सम्म भएको नेपाल–अंग्रेज बिचको युद्धमा जाजरकोटी सेनाले नेपाल सरकारलाई गरेको मद्दत, नेपाल एकिकरण अभियानमा जाजरकोटी सेनाले पृथ्वीनारायण शाहलाई सघाएको गौरवपुर्ण ईतिहास, विक्रम सम्बत १९११ मा हुम्ला र चिनको विचमा रहेको ताक्लाकोटमा जाजरकोटी सेनाले आक्रमण गरि ६ सय थान वन्दुक खोसेर नेपाल सरकारको विजय यात्रामा गरेको योगदान, सुदुर पश्चिमको डोटी राज्यका राजा शोभान शाहीले गोर्खाली सेनाका कमाण्डर रणजीत कुवरको फौजलाइ १८४८ सालमा घेरा बन्दी गरेको वेला जाजरकोटी राजा गजेन्द्र शाहको नेतृत्वमा गएको ५ सय फौजले उद्धार गरेर नेपाल एकिकरण अभियानलाई सघाएको ईतिहासलाई प्रदर्शनीले राष्ट्रिय स्तरमा जीवन्तता दिने मेला आयोजक मुल समारोह समितिकी अध्यक्ष पार्वती थापाले वताईन् ।
नेपालका कुनै पनि परिवर्तनमा जाजरकोट जिल्लाको भुमिका कम नरहेको वताउदै अध्यक्ष थापाले भनिन्–‘बिगत दशबर्षे सशस्त्र युद्धमा झण्डै साढी तीन सय जाजरकोटी नागरिकले बीरतापूर्ण बलीदान गरेका छन् ।’ आफुले काठमाण्डौं टुडीखेलमा आयोजना गरेको प्रथम राष्ट्रिय प्रदर्शनीले राष्ट्रिय संग्राहलय छाउनीमा राखिएका जाजरकोटी सेनाका कमान्डर जुद्धदल शाह नेतृत्वको सेनाले ताक्लाकोटमा आक्रमण गरि खोस्न सफल भएको छालाको तोप र ६ सय थान हतियारको खोजी तथा अध्ययन अवलोकनमा सहयोग पुग्ने अध्यक्ष थापाको भनाई रहेको छ ।
उक्त प्रथम राष्ट्रिय प्रदर्शनीमा जाजरकोटी सेनाद्धारा विक्रम सम्बत १९११ मा हुम्ला र चिनको विचमा रहेको ताक्लाकोट आक्रमणवाट हासिल गरेको उच्च बीरताको ऐतिहासिक प्रतिकसंग जोडिएको झण्डै तीनसय बर्ष पुरानो संस्कृतिसंग जोडिएको जाजरकोटको खाँडो नाँच मुख्य रहने मेला आयोजक मुल समारोह समितिका महासचिव भौतिक मल्लले वताए । जाजरकोटको ऐतिहासिक संस्कार तथा संस्कृतिसंग जोडिएको राउटे पैसेरी नाँच, ख्याली, सिंगारु, गर्रा, डेउडा, हिउदाले–ठाडीभाका लगाएतका प्रस्तुतीहरु प्रदर्शनीमा प्रस्तुत गरिने महासचिव मल्लले जानकारी दिए । साथै जिल्लाका विभिन्न कला, संस्कृति र जीवनशैली झल्किने फोटाहरुको प्रदर्शनी गरिने छ भने, जाजरकोटमा उत्पादन हुने कृषि उपजबस्तुहरु, जिल्लामा पाईने बहुमुल्य जडिबुडी, खनिज तथा बहुमुल्य रत्नपत्थरहरु, बिश्वकै दुर्लभ वन्यजन्तु तथा पन्छीहरुको फोटा प्रदर्शनी गर्नुको साथै समग्र जिल्लाको परिचय खुल्नेगरी बृतचित्रको प्रदशनी गरिने छ महासचिव मल्लले भने ।
जाजरकोट मनोरम प्रकृति र ऐतिहासिक संस्कृतिको धनी मात्र नभएर जलस्रोतमा पनि धनी जिल्ला हो । ४ सय १० मेघावाट क्षेमता राख्ने राष्ट्रिय स्तरको जलासययुक्त नलसिङ गाड जलविद्युत आयोजना, भेरी १, २, ३ र ४ जलविद्युत आयोजना पनि जाजरकोट जिल्लामै रहेका छन् । त्यैगरी तात्रगाड, छेडागाड लगाएतका दर्जनौ आयोजनाहरुको अध्ययन तथा निर्माण गरी सञ्चालन गर्न सकेमा जिल्ला जलविद्युत केन्द्रको रुपमा स्थापित हुन सक्ने सम्भावना बोकेको छ जाजरकोटले ।
काठमाण्डौंवाट पश्चिम तर्फ ७ सय १५ किलोमिटरको दुरीमा रहेको जाजरकोट जिल्ला ६ नम्बर प्रदेशमा पर्दछ । ४ वटा गाउँपालिका र ३ वटा नगरपालिका रहेका जाजरकोटको केन्द्रीय तथ्याङ्क विभागले गरेको राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन अनुसार जाजरकोट जिल्लाको कूल घरधुरी ३० हजार ४ सय ७२ र जनसंख्या १ लाख ७१ हजार ३ सय ४ रहेको छ । जाजरकोटमा पुरुषको जनसंख्या ८५ हजार ५ सय ३७, ४९.३५ र महिलाको ८५ हजार ७ सय ६७ ५०.६५ रहेको छ । जिल्लाको वार्षिक जनसंख्या बृद्धिदर २.३९ प्रतिशत रहेको छ ।
कुल क्षेत्रफल २,२३० वर्ग किलो मिटर रहेको जाजरकोट समुन्द्री सतहबाट ६१० देखि ५,४३५ मिटरसम्म उचाईमा रहेको भौगलिक बनावट रहेको छ । यस जिल्लाको सीमाना पूर्वमा रुकुम र डोल्पा, पश्चिममा दैलेख र सुर्खेत, उत्तरमा कालिकोट र जुम्ला तथा दक्षिणमा सल्यान र रुकुम पर्दछन । जिल्लाको कूल क्षेत्रफलमध्ये ५५.९ प्रतिशत वन रहेको भएता पनि राष्ट्रिय अनुकूलन योजना २०६७ अनुसार जाजरकोट मुलुकको सुख्खा ग्रस्तमा पहिलो र भू–क्षयको दृष्टिले दोस्रो सम्वेदनशील जिल्ला हो । कुल जनसंख्यामा ९१.९८ प्रतिशत मानिसहरु कृषि पेशामा सम्लग्न छन् ।