Logo

राष्ट्रिय सभामा सिफारिसप्रति कांग्रेसमा पौडेल पक्ष असन्तुष्ट



काठमाडौं २८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाका लागि गरेको सिफारिसप्रति पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएको छ । पार्टीभित्र छलफल नै नगरी देउवाले आफ्नानिकटका व्यक्तिलाई मात्र राष्ट्रिय सभामा सिफारिस गरेको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाएको हो ।

‘पार्टीभित्र छलफल गरेर मात्रै गर्छु भन्नुभएको थियो, तर शुक्रबारको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको निर्णय एकैचोटि सुन्नमा आयो,’ पौडेलनिकट स्रोतले भन्यो, ‘देउवाले राष्ट्रिय सभामा को–को ल्याउने भन्नेबारे एकपटक पनि छलफल गर्नुभएन ।’ पार्टी पद्धति र विधि एकपछि अर्को गरी मिच्दै गएको भन्दै पौडेल पक्ष देउवासँग असन्तुष्ट भएको हो ।
मन्त्रिपरिषदको शुक्रबारको बैठकले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । बस्नेत झापा कांग्रेसका पूर्वसचिव हुन् भने पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव । यी दुवै देउवानिकट हुन् । जोशी भने राप्रपा (प्रजातान्त्रिक) को सिफारिसमा परेकी हुन् ।

मन्त्रिपरिषद्ले शुक्रबार नै निर्णय गरे पनि प्रधानमन्त्री कार्यालयले शनिबार बिहान मात्रै राष्ट्रपति कार्यालयमा सिफारिस दर्ता गराएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रेस सल्लाहकार माधव शर्माले शनिबार बिदा परेका कारण दर्ता मात्रै भएको बताए । ‘दर्ता भएको होला, कार्यालय खुलेपछि मात्रै के रहेछ थाहा हुन्छ,’ उनले भने ।

संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) ले समेत प्रधानमन्त्री देउवाको एकल निर्णयको विरोध गरेका छन् । प्रदेश २ को राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग तालमेल गर्दा सरकारले मनोनीत गर्ने तीन जनामा पनि सहमतिअनुसार गर्ने भन्ने समझदारी भएको राजपा महासचिव केशव झाले बताए । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्