Logo

पार्टी निर्णयले छेकेन यी ‘भाग्यमानी’ कांग्रेसीलाई



काठमाडौं २८ माघ ।
सबै नेता कार्यकर्तालाई अवसर दिन भन्दै नेपाली कांग्रेसले समानुपातिकबाट कसैलाई नदोहोर्‍याउने निर्णय नै गर्‍यो । उसको यो निर्णयले अवसरको पर्खाईमा रहेका कार्यकर्ता उत्साहित पनि भए ।

तर, जब यसको कार्यान्वन गर्ने बेलामा भने पहुँचवालाकै बोलवाला रह्यो । समानुपातिकमा दोहोर्‍याएर उम्मेदवार नबनाउने निर्णयलाई लत्याउँदै कांग्रेसले केही नेतालाई लगातार तेस्रो पटकसम्म सांसद बनाउँदैछ ।

समानुपातिकबाट सांसद् भएलाई नदोहर्‍याउने निर्णय कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै पत्नीका हकमा पनि लागू गर्न सकेनन् । दोस्रो संविधान सभामा समानुपातिक सभासद् बनेकी उनलाई देउवाले कैलाली क्षेत्र नम्बर ५ मा प्रत्यक्षको टिकट दिए । तर उनी एमालेका उम्मेदवार नारदमुनि रानासँग फराकिलो मतले पराजित भइन् ।

को हुन् तेहरिने भाग्यमानी

कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकमा दोहोरिने मात्र होइन तेहरिने मौका समेत केहीलाई नेतालाई दिँदैछ । २०६४ को पहिलो संविधान सभा निर्वाचनमा समानुपातिकबाट सभासद् बनेका मोरङका कविताकुमारी सरदार र धनुषाकी मिनाश्री झाले तेस्रो पटक संसद बन्ने अवसर प्राप्त गर्दैछन् । सरदार र झा २०७० को संविधान सभा निर्वाचनमा समेत समानुपतिक सभासद बनेका थिए ।

कांग्रेसले समानुपातिकबाट पाउने ४० मध्ये २० महिला सांसद् बन्दैछन् । निर्वाचन आयोगले माघ २९ गते भित्र समावेशिताको आधारमा समानुपातिक सूची बुझाउन पत्र काटिसकेको छ ।

दोहोरिने को को हुन् ?

कांग्रेसमा दुईजना पुरुषसहित ६ जना भन्दा बढी महिला संघीय संसदमा दोहोरिँदै छन् । दोहोरिनेहरुमा कांग्रेसकी पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्य एवम् पुर्व उपप्रधानमन्त्री सुजाता कोइराला, लक्ष्मी परियार, सुजाता परियार रहेका छन् ।

निधिकी जेठीसासू पनि

कांग्रेसबाट दोहोरिने मौका कांग्रेसका नेता विमलेन्द्र निधिकी जेठी सासूले पनि पाएकी छन् । धनुषा ३ मा राष्ट्रिय जनता पार्टीका राजेन्द्र महतोसँग आफू पराजित भए पनि निधिले जेठीसासूलाई दोस्रो पटक सांसद बनाउन सफल भएका छन् । निधिकी जेठी सासू दीपशिखा शर्मा ढकाल दोहोरिने भाग्यमानीमध्येकी एक हुन् ।

मीन र मानलाई अवसर

पुरुषतर्फ मीनबहादुर विश्वकर्मा र मानबहादुर विश्वकर्माले समेत दोस्रो पटक सांसद बन्ने मौका पाएका छन् । एउटै व्यक्तिलाई पटक पटक सांसद बनाएपछि कांग्रेस भित्र असन्तुष्टि पैदा भएको छ ।

केन्द्रीय समितिमा आलोचना

प्रदेशको संसदीय दलको विधान पारित गर्न बसेको केन्द्रीय समितिको बैठकमा समेत एउटै व्यक्तिलाई पटक पटक अवसर दिएको भन्दै विरोध भएको छ । देउवानिकट एक नेताले समानुपातिकमा एउटै व्यक्तिलाई पटक पटक सांसद बनाउने विषयमा पार्टी नेतृत्वको आलोचना भएको बताए ।
अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्