Logo

विप्लवले ‘जनयुद्ध’कै शैलीमा कहाँ कहाँ गरे आक्रमण ?



काठमाडौं २ फागुन ।
काठमाडौं: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ‘जनयुद्ध’को शैलीमा देशमा विभिन्न ठाउँमा आक्रमण गरेका छन् । उनीहरुले मंगलबार मनाइने २३ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा मध्यरातमा छापामार शैलीमा ठाउँ ठाउँमा आक्रमण गरेका हुन् । विप्लवका कार्यकर्ताले रोल्पा, नुवाकोट, धनकुटा, रामेछाप, भोजपुर लगायतका ठाउँमा विप्लव कार्यकर्ता आक्रमण गरेका छन् ।

विप्लवले ‘जनयुद्ध’कै शैलीमा कहाँ कहाँ गरे आक्रमण ? एनसेलको टावर निसानमा

मुख्यतया: उनीहरुको निसानामा एनसेलका टावर परेका छन् । रोल्पाको माडी गाउँपालिका-६ कोर्चाबाङ मिनहीमा रहेको एनसेलको टावरमा राति करिव १२ बजे विस्फोट गराएका छन् । कुकर बम विष्फोट हुँदा टावरमा क्षति पुगेको छ । विष्फोटनबारे अनुसन्धान भइरहेको रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए।

नुवाकोटमा पनि एनसेल तारो

विप्लवका कार्यकर्ताले नुवाकोटस्थित एनसेलको रिपिटर टावर पनि ध्वस्त पारेका छन् । विदुर नगरपालिका-११ डाडागाउँस्थित एनसेलको टावरमा सोमबार राति साढे ११ वजे आगजनी गरी ध्वस्त पारिएको हो ।

सदरमुकाम विदुरदेखि २२ किलोमिटर दुरीमा रहेको एनसेलको टावरमा आगजनी हुँदा टावर पुर्ण ध्वस्त भई १५ लाख बराबरको सामाग्री क्षति भएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

पेट्रोलियम पदार्थ र जुटको बोरा प्रयोग गरी आगजनी गरेको अवस्थामा भेटिएको उनले बताए । टावर ध्वस्त भएपछि डाडागाउँमा सञ्चार सेवा विच्छेद भएको छ । आगजनीबाट टावरमा जडान गरिएको कल ‘कनेक्सन’ उपकरण, ब्याट्री र युपीएसलगायत ८० प्रतिशत सामग्रीमा क्षति पुगेको छ।

रामेछापमा पनि एनसेलमा आक्रमण

रामेछापमा समेत एनसेलको टावरमा आक्रमण भएको छ । रामेछाप नगरपालिकाको भालुखोपडाँडा र दोरम्वा गाउँपालिकाको थापा गाउँमा रहेको टावरमा विप्लवका कार्यकर्ताले क्षति पुर्‍याएका छन् ।

टावरमा क्षति भएपछि एनसेलको सेवा अवरुद्ध भएको छ । विप्लवका कार्यकर्ताले धनकुटामा पनि एनसेलको टावरमा आक्रमण गरेका छन्

भोजपुरको क्रसर उद्योगमा आगो

उनीहरुले भोजपुरका दुई स्थानमा आगजनी गरेका छन् । भोजपुरको पूर्वी अरुण गाउँपालिका लेगुवाको फेदी बजारमा रहेको एक क्रसर उद्योगमा आगजानी गरेका छन् ।

आगलागीबाट क्रसर उद्योगमा रहेको भीम पौडेलको एक्साभेटर जलेर नष्ट भएको छ । एक्साभेटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

भोजपुरकै पौवादुम्म गाउँपालिकाको तिवारी भञ्ज्याङ्गमा पनि आगजनी भएको छ । त्यहाँ पनि एक्साभेटरमा आगजानी गरिएको हो । कन्काई कन्ट्रकशनको एक्साभेटरमा राति १:३० बजे आगजानी गरिएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
अझै सशस्त्र संघर्ष ?

जनयुद्धको औचित्व समाप्त नभएको भन्दै अर्धभूमिगत विप्लव माओवादीले आन्दोलन जारी राखेको छ । उसले सशस्त्र गतिविधि पनि सञ्चालन गरिरहेको छ ।

जनयुद्धको झझल्को देखाउन ‘विप्लव’ले विभिन्न ठाउँमा आक्रमण गरेको देखिएको छ । आधिकारिकरुपमा विफोटनको जिम्मा नलिए पनि प्रहरीले विप्लव माओवादीले नै यी आक्रमण गरेको बताइएको छ ।

भोजपुरमा भएको घटनामा सडक निर्माणको आडमा राज्यलाई कुनै कर समेत नतिरी प्राकृतिक स्रोत साधनको मनपरी प्रयोग गरेको भेटिएकाले आक्रमण गरिएको विप्लवका किरात स्वायत्त प्रदेश जनपरिषद्का प्रमुख रविन किरातीले विज्ञप्ती निकालेर बताएका छन् ।

एउटा माओवादी अनेक टुक्रा

तत्कालीन माओवादीले २०५२ सालमा फागुन १ गते ‘जनयुद्ध’को सुरुवात गरेको थियो । १० वर्षसम्म चलेको ‘जनयुद्ध’मा १४ हजार बढीको मृत्यु भएको छ भने ठूलो धनजनको क्षति भएको थियो ।
अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्