Logo

फोरमलाई सरकारमा ल्याउने प्रयासमा एमाले



काठमाडौं १० फागुन । एमालेले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने प्रयास गरेको छ । त्यसका लागि एमाले नेताहरूले फोरमसँग अनौपचारिक वार्ता गरिरहेका छन् ।

संविधान संंशोधनमा एमाले सकारात्मक बने सरकारमा जान सकिने संकेत फोरमले दिएको छ । त्यसका लागि उसले एमालेसँग संविधान संशोधनको ठोस प्रतिबद्धता मागेको छ ।

एमाले र फोरमका दोस्रो तहका नेताबीच बुधबार कुराकानी भएको थियो । ‘एमालेसँंग कुराकानी सकारात्मक भएको छ, शीर्ष तहमा पुन: छलफल गरी संविधान संशोधनको विषयमा निष्कर्ष निकाल्ने प्रयास हुनेछ,’ फोरम नेता रामसहाय यादवले  भने, ‘संविधानको विषयमा साझा समझदारी बनेपछि सरकारमा जाने/नजानेबारे औपचारिक टुंगो लाग्नेछ ।’

संविधान संशोधनको विषयमा आवश्यकता र औचित्यका आधारमा टुंगोमा पुग्न सकिने धारणा एमालेले राख्दै आएको छ । यो विषयलाई समय तोकेर ठोस रूपमा अघि बढाउन फोरम नेताहरूले एमाले नेतासँग आग्रह गरेका थिए । ‘संविधान संशोधन नगरी अब प्रदेशहरू पनि चल्न सक्दैनन्, सातवटा प्रदेशमध्ये ६ वटा एमाले–माओवादीले नेतृत्व गरेका छन् । यो संशोधन अब २ नम्बर प्रदेशको विषय मात्र बनेन,’ यादवले भने, ‘यसैले संविधान संशोधनको आवश्यकता र औचित्य छ भन्ने हाम्रो भनाइ हो ।’

एमाले सचिव प्रदीप ज्ञवालीले सकेसम्म मधेसी दलहरू पनि सरकारमा आऊन् भनेर नै कुराकानी भइरहेको बताए । छलफल सकारात्मक रहेको पनि उनले बताए । फोरम अध्यक्ष यादवले गत सोमबार एमाले–माओवादी एकता संयोजन समितिको बैठक चलिरहेकै बेला बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका थिए । त्यस भेटमा ओलीले सरकारमा सहभागी हुन आग्रह गरेका थिए । ओलीले अबको मूल ध्यान विकास निर्माण भएकाले त्यसका लागि केन्द्र र प्रदेश सरकार मिलेर जानु आवश्यक रहेको भन्दै यादवलाई सरकारमा सहभागी हुन अनुरोध गरेका थिए ।

दुई नेताबीच वार्ताका सूत्रधारमध्येका एक एमाले नेताका अनुसार प्रदेश २ को विकासका लागि पनि मिल्नु अनिवार्य भएको र त्यो फोरमकै लागि फाइदाजनक भएको धारणा ओलीको थियो । ‘तराई मधेसमै सबैभन्दा बढी गरिबी छ, त्यहींका जनता पिछडिएका छन् । त्यसैले अब केन्द्रीय सरकारले मधेस केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘त्यसैले सरकारमा सहभागी हुनुभयो भने तपाईंहरूले पनि त्यसको जस लिन पाउनुहुन्छ र तपाईंहरूको प्रदेश सरकार पनि सफल हुन्छ ।’ प्रदेश २ मा फोरम नेतृत्वको सरकार छ । केन्द्रीय सरकार र प्रदेश सरकारको नीतिमा एकरूपता भयो भने मात्र त्यहाँको विकासमा सहयोग पुग्ने उल्लेख गर्दै ओलीले यो पक्ष ख्याल गरेर अघि बढ्न यादवसँग आग्रह गरेका थिए । अन्य सबै प्रदेश र केन्द्रमा एउटै प्रकारको नीति लागू हुने तर २ नम्बरमा फरक हुने स्थिति आउन दिन नहुने ओलीको जोड थियो ।

‘प्रदेश आफैंमा स्वतन्त्र रूपमा चल्न सक्ने अवस्था रहँदैन, धेरै स्रोतसाधन केन्द्रमै निर्भर रहनुपर्छ त्यसैले तपाईंहरू नेतृत्वको प्रदेश २ को पहिलो सरकारको सफलताका लागि पनि केन्द्रमा मिलेर जाँदा राम्रो हुन्छ,’ ओलीले भनेका थिए । त्यो भेटपछि बुधबार त्यसबारे दोस्रो तहका नेताहरूबीच पुन: कुराकानी भएको हो ।कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्