Logo

मुख्यमन्त्रीलाई टेर्दैनन् कर्मचारी, प्रधानमन्त्रीसँग मागियो गुहार



काठमाडौं १३ फागुन । प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रदेश सरकार सञ्चालनमा संघीय कर्मचारीबाटसहयोग नभएको गुनासो गरेका छन् । मुख्यमन्त्री राउतले संघीय कर्मचारीले असहयोग गरेपछि केन्द्रीय सरकारबाट सहयोगका लागि प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन् ।

प्रदेशमा केन्द्रबाट पठाइएका कर्मचारीहरु हालसम्म उपस्थित नभएको पनि उनले गुनासो गरेका छन् । कर्मचारीसहित प्रदेश सरकारका लागि आवश्यक स्रोत साधनसमेत अभाव रहेको भन्दै मुख्यमन्त्री राउतले सहयोग गरिदिन प्रधानमन्त्री ओलीलाई पत्र नै पठाएका छन् ।

राउतले फागुन ३ गते प्रदेश सरकार गठन भए पनि सरकारको काम अघि बढाउने क्रममा संघीय कर्मचारीहरु असहयोगी भइरहेको तथा कर्मचारी अभावका कारण कार्यसम्पादन समेत हुन नसकेको कुरा पत्रमा उल्लेख गरेका छन् ।

‘प्रदेश २ को आफ्नै प्रकारको सुरक्षा संवेदनशीलतो छ । यसबारे म प्रान्तीय सरकारको मुख्यमन्त्री र मेरा मन्त्रिमण्डलका साथीहरु तथा प्रान्तका अन्य महत्वपूर्ण पदाधिकारीको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न खोज्दा संघीय कर्मचारीबाट हामीले सहयोग प्राप्त गर्न नसकेको अनुभूति भएको छ’, प्रधानमन्त्रीलाई पठाइएको पत्रमा भनिएको छ ।

समय समयमा अनावश्यक प्रान्तीय सरकारको काममा अवरोध हुनेगरी निर्देशनहरु पनि संघीय मन्त्रालयहरुबाट जारी हुने गरेको भन्दै राउतले असन्तुष्टि जनाएका छन् ।

‘प्रदेश सरकार बन्यो, तर प्रदेशलाई चाहिने कर्मचारी र स्रोत साधनको ठूलो अभावे छ’, पत्रमा भनिएको छ, ‘केन्द्रबाट पठाइएका कर्मचारी अझै प्रदेशमा काम गर्न आइपुगेका छैनन् । कर्मचारी अभावमा प्रादेशिक काममा धेरै दिनसम्म अवरोध नगरी त्यसको विकल्पका रुपमा संघीय सरकारले अविलम्ब सहयोग गरिदिन हुन पत्रमार्फत अनुरोध गरिएको छ ।’

प्रदेश सरकार संविधान, कानुन र नियम अनुसार अघि बढ्न प्रतिबद्ध रहेको जनाउँदै मुख्यमन्त्री राउतले देश प्रादेशिक संरचनामा गएका कारण सरकारको नीतिगत, कार्यगत र स्रोत साधनमा पनि संघीय सरकारसँग सहयोग र समन्वय आवश्यक रहेको बताइएको छ । अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्