Logo

चारकोसे झाडीभित्र गोठजस्तो विद्यालय : ४ कक्षासम्मका विद्यार्थीलाई एउटै कोठा, एउटै शिक्षक



काठमाडौं  । राहुल पासवान (कक्षा–२) कापी र सिसाकलमसँगै बोरा पनि बोकेर चारकोसे झाडी छिर्छन् । उनले पढ्ने नेपाल दलित प्राथमिक विद्यालय चारकोसे झाडीभित्र छ । गोठजस्तो विद्यालयमा बस्ने बेन्च र चकटी तथा पुस्तक राख्ने डेस्क र टेबल केही छैन ।

विद्यालयमा न त लेख्नका लागि कालोपाटी र चक नै छ, न त पढाउने स्थायी शिक्षक । विद्यालय सहयोगी कार्यकर्ता लक्ष्मी चौधरीको भरमा चलेको छ विद्यालय । उनले कक्षा १ देखि चारसम्म पढ्ने ७० बालबालिकालाई एकै ठाउँ राखेर पढाउँछिन् । ‘यस्तो अवस्थामा के पढ्नु र के पढाउनु ? दिन काट्ने बाटो मात्रै भएको छ,’ चौधरीले भनिन् ।

जिल्ला शिक्षा कार्यालय बाराले ०६६ सालमा विद्यालय सञ्चालनका लागि अनुमति दिएको थियो । त्यतिबेला वन क्षेत्र अतिक्रमण गरेर बसेका सुकुम्बासीका बालबालिका पढाउन विद्यालय खोल्ने अनुमति दिएको शिक्षाका एक कर्मचारीले बताए । विद्यालय सहजनाथ साझेदारी वन क्षेत्रको चारकोशे झाडीमा खोलियो ।

सो स्थान हाल जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ मा पर्छ । त्यहाँ मठियानी टोलका ४५ बालिका र २५ बालक पढ्छन् । विद्यालय खोल्ने स्थानको सामान्य निरीक्षणसमेत नगरेर विद्यालय खोल्ने अनुमति दिँदा समस्या भएको जितपुरसिमरा–१७ का रुकेश प्रसादले बताए ।

उनका अनुसार बालबालिकालाई विद्यालय जान पनि सहज छैन । ‘पहिला विद्यालय टाढा थियो, अहिले नजिक छ, तर जंगलबीचमा हुँदा बालबालिका जान डराउँछन्,’ उनले भने ।

स्रोत व्यक्तिले नै थाहा पाएनन् विद्यालय खुलेको

डुमरवाना स्रोत केन्द्रका स्रोत व्यक्ति श्यामसुन्दर सापकोटाले त्यतिबेला विद्यालय खोल्न कसरी अनुमति दिइयो भन्ने आफूलाई थाहा नभएको बताए । विद्यालय छ भन्ने थाहा पाएपछि खोजी गर्दा जंगलभित्र भेटाएको उनको भनाइ छ ।

‘विद्यालय छ भन्ने सुनेको थिएँ, केही समयदेखि खोजिरहेको थिएँ, खोज्दै जाँदा जंगलको बीचमा भेटाएँ,’ सापकोटाले भने । विद्यालय पुग्दा अर्कै मुलुक आएजस्तै लागेको उनले बताए ।

वन क्षेत्रमा बसेको मठियानी गाउँ नै अस्थायी भएकाले विद्यालय पनि अस्थायी भएको सापकोटाले बताए । उनले सो विद्यालयलाई अन्यत्र गाभ्नुपर्ने बताए । ‘पहिला धेरै विद्यार्थी रहेछन्, अहिले खासै विद्यार्थी छैनन्,’ सापकोटाले भने, ‘वन क्षेत्रमा सरकारले लगानी गरेर संरचना बनाउन नमिल्ने हुँदा विद्यालयको अवस्था दयनीय बनेको हो ।’



प्रतिक्रिया दिनुहोस्