Logo

सामुदायिक भवन निर्माणका लागि निःशुल्क जग्गा



म्याग्दी, १९ फागुन । म्याग्दीको धौलागिरि गाउँपालिका– ३ घट्टेखोलामा सामुदायिक भवन निर्माणका लागि दुई व्यक्तिले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ ।स्थानीयवासी दलबहादुर भण्डारी र भिमात्ती भण्डारीले दुई लाख ७५ हजार मूल्य बराबरको एक रोपनी छ आना जग्गा शुक्रबार वडा कार्यालयलाई दिनुभयो ।

दलबहादुरले रु ६५ हजार बराबरको छ आना र भिमात्तीले रु दुई लाख १० हजार। बराबरको एक रोपनी चार आना जग्गा वडा कार्यालयको नाममा रजिष्टे«शन पास गरेको भवन निर्माण समितिका अध्यक्ष ओमप्रसाद भण्डारीले बताउनुभयो ।

गाउँपालिकाको केन्द्र कायम भएको घट्टेखोलामा सामुदायिक भवन निर्माणका लागि गाउँसभाले चालु आर्थिक वर्षका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । सो बजेटमार्फत निर्माण हुन लागेको भवनका लागि आवश्यक जग्गा भण्डारीद्वयले वडालाई उपलब्ध गराउनुभएको हो ।

तीन सय जना क्षमताको सामुदायिक भवन निर्माण भएपछि सार्वजनिक कार्यक्रम, सभा, समारोह, प्रशिक्षण, तालीम, सांस्कृतिक कार्यक्रम गर्न सहज हुने वडाध्यक्ष पुर्म पुनले बताउनुभयो ।

अक्षयकोषमा रु साढे तीन लाख

जटिल रोगबाट थलिएका विपन्न म्याग्देलीको उपचारका लागि सहयोग गर्न स्थापित अक्षय कोषमा जापानबाट रु साढे तीन लाख सहयोग प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपालीसंघ मोना जापानको नागोया क्षेत्रीय समितिले शुक्रबार आयोजना गरेको कार्यक्रममा सहभागीले ओमकुमारी शान्ति कोषले डेढ करोडको अक्षय कोष स्थापनाका लागि सञ्चालन गरेको अभियानमा उक्त रकम सहयोग गरेका हुन् ।

रु तीन लाख ५० हजार सहयोग गर्ने मोना नागोया क्षेत्रीय समितिलाई संस्थाको संस्थागत संरक्षक प्रदान गरिने संस्थाका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । मोना जापानका वरिष्ठ उपाध्यक्ष तथा एनआरएन जापान नागोया क्षेत्रीय संयोजक दीपक कार्कीले रु एक लाख ११ हजार १११ सहयोग गर्नुभएको छ ।

हाइपो प्लास्टिक एनिमिया रोगबाट थलिएकी बेनपा– ४ की ओमकुमारी पुन शान्तिको स्मृतिमा स्थापित कोषले जटिल रोगबाट बिरामी भएका म्याग्दीका गरिब तथा विपन्नको उपचारमा सहयोग गर्ने उद्देश्यले रु एक करोड ५० लाखको अक्षयकोष स्थापना गर्ने अभियान सञ्चालन गरेको छ ।

विसं २०७२ मा स्थापित कोषले हालसम्म ५४ जनालाई ८० लाखभन्दा बढी उपचारका लागि सहयोग गरेको छ भने अक्षयकोषमा रु ६० लाखभन्दा बढी सहयोगको घोषणा भएको छ ।

अक्षयकोष स्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले यसअघि कतार र बहराइनमा समेत कार्यक्रम गरिएको थियो । मिर्गौला, मुटु, अर्बुद, रक्तअर्बुदलगायत जटिल रोगबाट प्रभावित भएका बिरामीलाई कोषले उपचारका लागि सहयोग गर्दै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्