Logo

हुचिल र सालकको मासुसहित दुई जना पक्राउ



नुवाकोट, २० फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी र यहाँको प्रहरीको सहयोगमा तीन हुचिल र सालकको सुकेका मासु सुकुटी सहित दुई जनालाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका–७ रातमाटेका कृष्णलाल श्रेष्ठ र तार्केश्वर गाँउपालिका–२ तारुकाका बलराम श्रेष्ठ रहेको नुवाकोट प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिनुभयो ।

लामो समयदेखि वन्यजन्तुको ओसारपसार गर्दै आएको जानकारी पाएपछि उनीहरुलाई सिआइबी प्रहरीले ग्राहक बनेर पछ्याउने क्रममा शनिबार कृष्णलालको घरबाट हुचिल र सालकको सुकेका मासुका टुक्राहरु नियन्त्रणमा लिन सफल भएको जनाएको छ ।

हुचिल र सालक लोपोन्मुख वन्यजन्तुमा पर्ने भएकाले पक्राउ परेकालाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु ऐनअनुसार कारबाहीका लागि प्रहरीले आज जिल्ला वन कार्यालयमा बुझाउने जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्