Logo

पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण अर्थपूर्ण



काठमाडौं २१ फागुन ।
पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी नेपालको दुईदिने औपचारिक भ्रमणका लागि सोमबार अपराहन काठमाडौं उत्रँदै छन् । प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन र दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफलका लागि अब्बासी नेपाल आउन लागेका हुन् ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीलाई बधाई दिन पाकिस्तानी समकक्षी अब्बासी काठमाडौं आउन लागेको बताए। ओलीले सोमबार नै अब्बासीको सम्मानमा होटल याक एन्ड यतीमा रात्रिभोज दिनेछन् भने त्यहीं नै दुईपक्षीय वार्ता गर्नेछन्। भेटमा दुई नेताबीच दुईपक्षीय सम्बन्धबारे समग्र विषयमा छलफल हुने र यसबारे सबै तयारी पूरा भइसकेको समेत रिमालले जानकारी दिए। वार्तामा पूर्वप्रधानमन्त्री र राजनीतिक उच्च नेतालाई बोलाइएको छ। यसअघि पाकिस्तानको ‘एडभान्स टिम’ आएर सबै तयारी पूरा गरिसकेको छ।

ओली प्रधानमन्त्री भएपछि पहिलो उच्चस्तरीय पाहुनाका रूपमा अब्बासी काठमाडौं उत्रँदै गर्दा प्रतिनिधिसभाको पहिलो बैठक बसिरहेको हुनेछ। विशेष विमानमा ३२ सदस्यीय टोलीसहित आउन लागेका अब्बासी नेपालमा १९ घण्टा रहनेछन्। पाकिस्तानी प्रधानमन्त्री आउने अघिल्लो दिनमात्र परराष्ट्र मन्त्रालयले भ्रमणबारे सार्वजनिक गरेको छ। पाकिस्तानको विदेश मन्त्रालयले पनि आइतबार नै विज्ञप्ति जारी गरी दुईपक्षीय सहकार्यमा शिक्षा, पर्यटन, व्यापार, सैनिक सुरक्षा, जनस्तरको सम्बन्धलगायत आपसी हितमा छलफल हुने जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले मंगलबार स्वदेश फर्कनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्नेछन्।

२०७१ मंसिरमा काठमाडौंमा आयोजना भएको १८ औं शिखर सम्मेलनपछि सार्क सम्मेलनको प्रक्रिया अघि बढ्न सकेको छैन। त्यसलाई अघि बढाउन प्रधानमन्त्री अब्बासीले जोड दिने आकलन छ। चीनको विश्वासिलो र व्यावसायिक साझेदारका कार्यकारी प्रमुख यतिबेला नेपाल आउनुलाई कूटनीतिक जानकारहरूले चासो व्यक्त गरेका छन्। नेपालमा हालै बनेको वाम गठबन्धन सरकारलाई चीन निकटका रूपमा हेरिएको अवस्थामा यो भ्रमण हुन लागेको छ।

टुँडिखेलमा ‘गार्ड अफ अनर’
पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई टुँडिखेलको सैनिक मञ्चमा ‘गार्ड अफ अनर’ दिइने भएको छ। यसअघि त्रिभुवन विमानस्थलमै गार्ड अफ अनर दिने गरिएको थियो। प्रधानमन्त्री ओलीको निर्देशनमा यसलाई परिवर्तन गरिएको हो। ‘अहिलेलाई हामीले टुँडिखेललाई नै तय गरेका छौं। सम्भवत: अबका दिनमा त्यहीँ हुन्छ होला,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले कान्तिपुरसँग भने। गार्ड अफ अनर दिँदा समकक्षी नै उपस्थित हुनुपर्ने र त्रिभुवन विमानस्थलमा दिइँदा लिन नै समकक्षी गएजस्तो हुने भएको भन्दै परिवर्तन गरिएको हो। अब्बासीलाई स्वागत गर्न अर्थमन्त्री युवराज खतिवडालाई विमानस्थल पठाउने निर्णय सरकारले निर्णय गरेको छ। विमानस्थलबाट उनी सीधै टुँडिखेल जानेछन्। गार्ड अफ अनरको कार्यक्रम सकिएपछि उनी बस्ने होटल हायात पुग्नेछन्।

अर्थपूर्ण भ्रमण : विज्ञ
अब्बासीको भ्रमणलाई कूटनीतिक जानकारहरूले भूराजनीतिक प्रभाव र नेपालको स्वतन्त्र निर्णयसँग जोडेर हेरेका छन्। पाकिस्तानले जारी गरेको विज्ञप्तिमा प्रयोग भएका शब्दहरू आफैंमा अर्थपूर्ण रहेको समेत उनीहरूको धारणा छ। पाकिस्तान अबको सार्क सम्मेलन आयोजक मुलुक भएकाले पनि यसलाई अघि बढाउन यो भ्रमण महत्वपूर्ण रहनुपर्ने उनीहरूले बताए।

पूर्वराजदूत डा. दिनेश भट्टराईले यो भ्रमणलाई असाधारण रूपमा लिन नमिल्ने भन्दै यस्तो भ्रमणमा दुईपक्षीय हितका विषयमा छलफल हुनेमात्र नभई क्षेत्रीयस्तरमा सबैलाई स्पष्ट पार्ने काम हुने बताए। सार्कलाई गति दिन आवश्यक भएको अवस्थामा यो भ्रमणलाई सकारात्मक लिन सकिने उल्लेख गर्दै भट्टराईले भने, ‘शुभकामना दिन र नेपालको प्रगतिमा खुसी साट्न आउनुलाई अन्यथा लिन हुँदैन।’ लोकतन्त्रको संस्थागत विकास नियाल्न आउनु नै खुसीको विषय भए पनि यो भ्रमण पाकिस्तानकै सक्रियतामा भएकाले यसलाई अर्थपूर्ण मान्नुपर्ने उनको धारणा छ।

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका प्रमुख डा. खड्ग केसीले नेपालबाट पहल नभए पनि पाकिस्तान आफैं बधाई दिन आएको बताए। ‘यो भ्रमणका बारेमा स्पष्ट धारणा राख्न सक्ने अवस्था त छैन तर पनि रणनीतिक र राजनीतिक तवरमा मुलुकलाई फाइदा हुने अवस्था भने छैन,’ उनले भने, ‘तर पनि नेपालले आफूलाई स्वतन्त्र कित्तामा उभ्याउने मात्र होइन, सार्कका सबै सदस्य मुलुकप्रति उत्तिकै सद्भाव रहेको जानकारी दिएको छ।’

पूर्वप्रधानमन्त्री झलनाथ खनालका परराष्ट्र मामिला सल्लाहकार रहिसकेका कूटनीतिक जानकार मिलन तुलाधरले यस्तो आश्चर्यजनक भ्रमण हुन आवश्यक रहेको बताए। ‘नेपालमा अहिले हुन लागेको भ्रमणबाट धेरै प्रकारको कूटनीतिक संकेत गर्दछ। यसलाई चीन फ्याक्टरमा जोडेर हेर्नु हुँदैन तर यस क्षेत्रमा चीनको वर्चस्व बढदै गएको इन्कार गर्न पनि सकिँदैन। यो क्षेत्रमा हामी सबै एउटै डुंगामा छौं,’ उनले भने। सबै मिलेर अघि बढ्न आवश्यक रहेको भन्दै उनले यसको नेतृत्व सार्कको राजनीतिक केन्द्र रहेको सहर काठमाडौंले गर्नुपर्ने तुलाधरले बताए।

कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्