Logo

रेल सेवा अध्ययन गर्न भारतीय टोली आउँदै



काठमाडौं २८ फागुन ।  राँझा विमानस्थल हुँदै कोहलपुरसम्म रेल सेवा विस्तार गर्न भारतीय अधिकारीहरूले स्थलगत अध्ययन गर्ने भएका छन् । भारतको गोरखपुर र गोन्डाका रेल अधिकारी सोमबार अध्ययनका लागि नेपालगन्ज आउन लागेका हुन् । उनीहरूले नेपाली अधिकारी र स्थानीयसित भेटेर अन्तर्क्रिया गर्नेछन् ।

भारतीय अधिकारीले रुपैडिहास्थित रेल स्टेसनबाट अध्ययन सुरु गर्ने कार्यक्रम छ । उक्त रेल स्टेसनले भारतमा अंग्रेज शासनको पालादेखि नेपाल–भारत जोडेको छ । त्यहाँबाट सीमावर्ती नेपाली गाउँ पिप्रहवा हुँदै राँझासम्म सर्भे गर्ने कार्यक्रम छ । अध्ययन टोलीले यसअघि नेपालगन्जको पूर्वी क्षेत्र पिप्रहवा हुँदै सिधै राँझासम्म रेल सेवा विस्तारको प्रस्ताव गरेको थियो । ‘रेलका लागि लिक निर्माण आवश्यक पर्छ । त्यसैले बस्तीबाहेकको क्षेत्र रोजिएको छ,’ रेल सेवा विस्तार फाइनल लोकेसन सर्भे टोलीका सदस्य गणेशबहादुर शाहीले भने ।

जिल्ला प्रशासन, मालपोत, नापी, वन र भन्सार कार्यालयका अधिकारी टोलीमा सदस्य छन् । भारतीय अधिकारीले रुपैडिहा रेल स्टेसनबाट लिक सुरु गरी राँझा विमानस्थल नजिकैको सोल्टी होटेलसम्म सिधा विस्तार गर्ने प्रस्ताव गरेका छन् । राँझा विमानस्थल बीचमा पर्ने भएकाले त्यहाँबाट पश्चिमतर्फ डाइभर्सन गरिनेछ । ‘फोर लेन सडकलाई डाइभर्सन गर्न आकासे पुल निर्माण गर्ने प्रस्ताव छ । यसो गरिँदा फोर लेन सडकलाई कुनै समस्या हुनेछैन,’ सदस्य शाहीले भने, ‘राँझा विमानस्थलको पश्चिम हुँदै कोहलपुरसम्म रेल सेवा विस्तार गर्ने योजना छ ।’

नेपाली अधिकारीहरूले भने सुक्खा बन्दरगाह निर्माण गरिने भनिएको जयपुरबाट सिधै कोहलपुरसम्म रेल सेवा विस्तारका लागि सुझाव दिएका छन् । तर भारतीय अधिकारीहरूले बीचमा घना बस्ती पर्न सक्ने भन्दै नेपालगन्जको पूर्वी क्षेत्रबाट र राँझापछि पश्चिम क्षेत्र हुँदै रेल सञ्चालन गर्ने अडान राख्दै आएका छन् ।

यसअघि नेपाल–भारत रेल सेवा सञ्चालनका लागि दुई मुलुकका उच्च स्तरीय रेलवे अधिकारीहरूबीच नेपालगन्जमा छलफल भएको थियो । पछिल्लो पटक सरकारको सचिव स्तरीय निर्णयले रेल सेवा विस्तारका लागि ‘फाइनल लोकेसन सर्भे टोली’ गठन भइसकेको छ । २०७४ साउन ५ गतेको सचिवस्तरीय निर्णयले उक्त टोली गठन गरेको हो ।

यसअघि नेपालगन्जमा भएको छलफलमा भारतीय रेलवे विभागका प्रमुख सिनियर इन्जिनियर बिके सिंह र नेपालका तर्फबाट सिनियर डिभिजन इन्जिनियर प्रकाशभक्त उपाध्यायबीच छलफल भएको थियो । भारतीय पक्षले कोहलपुरसम्म रेलवे सेवा विस्तार गर्नुको कारण नेपालले सञ्चालन गर्ने मेची–महाकाली रेलवे सेवासँग जोड्नु रहेको जनाएको छ । उक्त परियोजनाको नाम भने नेपालबाट नेपालमै रेलवे सेवा सञ्चालन राखिएको छ । नेपालगन्जसँग जोडिएको रुपैडिहादेखि गोन्डासम्मका लागि छोटी लाइन (सानो) रेल सञ्चालन हुँदै आएको थियो । गोन्डा र गोरखपुर यस्तो रेलवे स्टेसन हो, जसले सिंगो भारतलाई जोडेको छ ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्