काठमाडौं, १ चैत । विश्वकप छनोटको प्ले अफमा नेपालले पपुवा न्यूगिनीमाथि ६ विकेटको फराकिलो जित हात पारेको छ । पपुवा न्यूगिनीलाई ११४ रनमा समेटेको नेपालले मात्र २३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।
पपुवा न्यूगिनीको चार विकेट लिएका ऐरीले अर्धशतक पारी खेल्दै नेपाललाई जिताएका थिए। दिपेन्द्र सिंह ऐरीले अलराउण्ड प्रदर्शन गरेसँगै ५० रन पुरा गरेका थिए ।
नेपालको सुरुवात भने राम्रो रहेन । १३ रन जोड्दा दुबै ओपनर आउट भइसकेका थिए । मल्ल १ र अनिलकुमार साह मात्र ९ रनमा आउट भए । थप २२ रन जोड्दा कप्तान पारस खड्का पनि व्यक्तिगत २० रनमा आउट भए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ओभरमा सबै विकेट गुमाएर ११४ रन बनायो । मात्र ४।२ ओभर बलिङ गरेका ऐरीले १४ रन दिएका थिए भने लामिछानेले ८ ओभर बलिङ गर्दै २९ रन खर्चिका थिए ।
नेपाली बलरहरु हाबी भएको खेलमा पपुवा न्यूगिनीका ब्याट्सम्यानहरुले ठूलो पारी खेल्न सकेनन् । नेपालका सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ४र४ विकेट लिए । करण केसी र सोमपाल कामीले एकएक विकेट लिएका छन् ।
पपुवा न्यूगिनीले ओडीआई स्टाटस गुमायो
हारसँगै पपुवा न्यूगिनीले एकदिवसीय मान्यता गुमाएको छ । नेपाल भने नजिक पुगेको छ । अहिले भइरहेको अर्को खेलमा नेदरल्याण्डसले हङकङलाई हरायो भने नेपालले अन्तिम खेल अघि नै ओडीआई स्टाटस पक्का गर्नेछ । तर, हङकङले जित्यो भने सातौं स्थानका लागि नेपाल र हङकङबीच खेल हुनेछ र त्यो खेल जित्ने टोलीले एकदिवसीय मान्यता पाउनेछ ।