काठमाडौं । म्याग्दीको दुर्गम मालिका गाउँपालिकाको रुम गाउँ अहिले शोकमग्न छ । कारण, वैदेशिक रोजगारीमा गएका जवान युवा धर्मलाल रोकामगर गाउँले गुमाएको छ । २८ वर्षीय छोरो गुमाएका ७५ वर्षीया लीलामती र ८० वर्षीय धनबहादुर झन् मर्माहत छन् ।
धर्मलाल लालमती र धनबहादुरका कान्छा छोरा थिए । बुढा बाआमाको गुजारा चलाउनकै लागि अविवाहित उनी मलेसिया पुगेका थिए । आगामी दसैँमा घर फर्किने र बिहे गर्ने योजना थियो उनको । तर, उनको सपना मलेसियामै समाप्त भयो ।
रोकामगर परिवारका लागि यो पहिलो प्रहार होइन । त्यसअघिको पीडा पनि खपिनसक्नु छ । लीलामती र धनबहादुरले अरू दुई छोरा यसअघि नै गुमाइसकेका थिए, त्यो पनि वैदेशिक रोजगारीकै क्रममा । १२ वर्षअघि माइला छोरा भक्तबहादुरको कतारमा र जेठा छोरा तमबहादुरको १० वर्षअघि मलेसियामा मृत्यु भएको थियो । १८ महिनाको अन्तरमा भएका दुई निर्मम घटनाबाट बिछिप्त बुढा बाआमालाई कान्छा धर्मलालले सम्हाल्दै आएका थिए ।
तर, झण्डै एक साताअघि धर्मलालले पनि संसार छाडे । अब रोका दम्पतीको सहारा साइँला छोरा थमबहादुरमात्रै छन् । रोजगारीकै लागि मलेसिया रहेका उनी पनि एक साताअघिमात्रै नेपाल फर्किएका थिए । मलेसियाबाट छुट्ने बेला उनले भाई धर्मलाललाई भेटेका थिए । आम्दानी राम्रो नभएपछि जागिर छाडेर घर फर्किएका उनी भाइ गुमाउँदाको पिडाले विछिप्त छन् । ‘सम्पती कमाउन गएको परिवारको सदस्य नै गुमेपछि अब के नै आशा बाँकी रहयो र !’ थमबहादुरले भने, ‘दुई दाइको निधन भएपछि भाइ र मैले नै जेनतेन घरपरिवार सम्हाल्दै आएका थियौँ, भाइले पनि संसार छोडेर गयो ।’
थमबहादुरसँगको अन्तिम भेटमा धर्मलालले भनेका थिए रे, दशैँमा घर आउँछु र विहे गर्छु । भाईको बचन सुनाईदिँदा बुढी आमा बुहारी पाउने आशले उद्देलित भएको थमबहादुरले स्मरण गरे । तर, अहिले यी सब उनलाई सपनाझैँ लागिरहेछ । ‘हप्ता दिनअघि हाँसी हाँसी विदा भएको भाईलाई बन्द बाकसमा भेट्दा सपनाझैँ लागेको छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव बुझ्दै गर्दा उनले भने ।
पहिले दुई छोराको शव पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । त्यतिबेला मृत छोराका मुहार हेर्न लिलामति र धनबहादुर काठमाडौं नै आएका थिए । तर, अहिले उनीहरु दुवै काठमाडौं आउने अवस्था छैन । त्यसैले बाबुआमाको आग्रहमा थमबहादुर भाईको शव लिएर म्याग्दीतिर हिँडिसकेका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले शव लैजान गाडीको व्यवस्था मिलाइदिएको छ ।
तीनै भाईको सुतेकै अवस्थामा मृत्यु
१२ वर्षअघि माइला छोरा भक्तबहादुर मृत्यु हुँदा २४ वर्षका थिए । कतारमा सुतेकै अवस्थामा उनको मृत्यु भएको थियो । भाईको मृत्यु भएको १८ महिनापछि जेठा तमबहादुर पनि मलेसियामा सुतेकोसुत्यै भए । अहिले मलेसियामै धर्मलालको उही हालत भयो । वैदेशिक रोजगारीका क्रममा एकै परिवारको तीन सदस्यको निधन भएको खबरले रोका परिवारमात्रै होइन, म्याग्दीको दुर्गम गाउँ रुम शोकमा छ ।
जब साथीले धर्मलाललाई कुर्सीमै मृत भेटे
मलेशियाको कोतरिया भन्ने स्थानमा धर्मलाल एउटा अपार्टमेण्टमा सुरक्षा गार्ड थिए । श्रम स्वीकृतीको अवधि समाप्त भइसकेका उनी म्याद थप गरी उतै बसेका थिए । नेपालकै राजु गुरुङ र उनी दुई सिफ्टमा आलोपालो काममा खटिन्थे । तर, गत शनिबार गुरुङको ड्युटी रातिको समयमा थियो । जिम्मेवारी हस्तान्तरण गर्न बिहान उनी धर्मलालाई पर्खिरहेका थिए । तर, अबेरसम्म पनि धर्मलाल ड्युटीमा पुगेनन् । गुरुङ अपार्टमेन्टभित्रै धर्मलाल सुतेको ठाउँमा पुगे । त्यहाँ पुग्दा उनी कुर्सीमा सुतिरहेको अवस्थामै मृत भेटिए ।
बिदेश गए, हण्डर खाए, अन्ततः ज्यानै गुमाए
घरमा बुढेसकालले छोइसकेका बाबुआमा बिरामी हुन थालेपछि खर्च जुटाउनु धर्मलालको धर्म र बाध्यता दुवै बन्यो । उनी १० कक्षाको पढाई बिचैमा छोडेर सात वर्षअघि पहिलोपटक विदेशिएका थिए । दुई वर्ष मलेसिया बसेर फर्किएका उनी डेढ वर्षपछि पुनः उतै हानिए । त्यसयता उनले चार पाँच लाख रुपैयाँ पठाएको दाई थमबहादुर बताउँछन् । ‘त्यो पैसा बाबुआमाको औषधोपचार र घरव्यवहारमै सकियो,’ उनले भने ।
पाँच–सात महिनाअघि धर्मलाल दलाल चंगुलमा समेत परेका रहेछन् । क्यानडा जाने आशमा पाँच लाख रुपैयाँ दलाललाई बुझाएका उनी मलेसियाबाट थाइल्याण्डसम्म पुगेछन् । तर, दलालले फसाएको थाहा पाएपछि उनी मलेसिया नै फर्किएका थिए । दलालले सबै पैसा खाएर भागेपछि एक रात एक दिनमा मलेसिया फर्केको कुरा भाइले सुनाएको थियो,’ थमबहादुरले सम्झिए, ‘त्यतिखेर मैले नजा भनेकै थिएँ । टुरिष्ट भिषामा जाँदा कुनै समस्या हुँदैन भनेर हिँडेको थियो ।’
छोराको मृत्युमा अचेत बुढीआमा
दुई भाई छोरा गुमाएको एक दशक भइसकेको थियो । फेरि कान्छो छोरो गुमाउनुपर्यो लिलामतीले । सुरुमा त साइला छोरा थमबहादुरले भाईको मृत्युको खबर आमाको कानसम्म नपुगोस् भन्ने चाहेका थिए । तर, धर्मलालको मृत्युको खबर सामाजिक सञ्जालहुँदै गाउँमा फैलियो, बुढी आमाको कानसम्म पुग्यो । त्यसपछि उनलाई सम्हालिन गाह्रो भयो । ‘भाईको घटना सुनेपछि आमाले बरु म मर्नुपर्नेमा छोरो मर्यो भन्दै टाउकोमा दाउराले हिर्काउनु भयो,’ थमबहादुरले भने, ‘छोराको मृत्युको पीडा र टाउकोमा लागेको चोटले आमा अचेत हुनुहुन्छ ।’ नयाँपत्रिका