Logo

रारा आउने पर्यटकलाई गाउँमै बास बस्ने व्यवस्था



मुगु, २९ चैत । आगामी वैशाख १ गते उद्घाटन हुने रारा कणाली पर्यटन वर्षको कार्यक्रममा सहभागी हुने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमै बासको व्यवस्था गरिएको छ ।

रारा तालको नजिक रारा राष्ट्रिय निकुन्जको चमेना गृह डाँफे होटल र अर्को पाहुना घर भिलेज हेरिटेज रिसोर्टले रारा आउने पर्यटकलाई खाने बस्ने लगायत व्यवस्था धान्न नसक्ने भएकाले उनीहरुलाई जिल्ला समन्वय समितिले गाउँमै बासको व्यवस्था मिलाउने भएको छ ।

रारा वरिपरि रहेका झघट्ट, मुर्मा, झयारी, सल्लेरी, पिना, टोप्ला, ताल्च, माथीतुम, तलितुम र लामाचौरमा घरबासको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो ।

ती गाउँमा वर्षभरि आउने पर्यटकलाई गाउँमै बास र स्थानीय खाना खुवाउने गरी घरबास होमस्टे सञ्चालन गर्ने गाउँलेले सहमति जनाएको र शुल्क पर्यटकको इच्छा अनुसार लिने समझदारी भएको उहाँले बताउनुभयो ।

प्रजिअ अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकाया, छायाँनाथ रारा नगरपलिकाका प्रमुख हरिजंग शाही, उपप्रमुख सुल्तला रोकाया र पत्रकार महासंघको टोलीले १० वटै गाउँमा पर्यटकको बासका लागि पहल गरेका हुन् ।

गाउँलेकै सक्रियतामा प्रत्येक गाउँमा युवा समिति गठन गरिएको छ । ती समितिमा रहेका युवाले गाउँमा आउने पर्यटकलाई रारा घुमाउने, गाउँघरमा मदिरा नियन्त्रण गर्नेलगायत सामाजिक कार्य गर्नेछन् ।

वैशाख १ गते रारा तालबाट रारा कर्णाली पर्यटन वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गरी उद्घाटन गर्ने कार्यकक्रम रहेको छ । प्रधानमन्त्रीले उद्घाटन गरेपछि कर्णाली प्रदेशमा वर्षभरी विभिन्न कार्यक्रम गरेर पर्यटन वर्ष मनाइनेछ । रासस



प्रतिक्रिया दिनुहोस्