Logo

अस्पताल भवनको निर्माण कार्य अलपत्र



इटहरी, ३० चैत । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा पछिल्लो समयमा निर्माण थालिएको मुटु तथा क्यान्सर रोग उपचारसम्बन्धी अस्पताल भवनको निर्माण कार्य विगत ६ महिनादेखि अघि बढ्न सकेको छैन ।

उक्त अस्पताल भवन रु चार अर्ब ५० करोडको लागतमा निर्माण थालिएको हो । निर्माण कार्यको सुपरीवेक्षणको जिम्मेवारी दिइएको केज कन्सल्टेन्सीले उक्त भवन निर्माण गर्दा अन्तर्राष्ट्रिय प्रचलनमै नरहेको तीन दशमलब पाँच प्रतिशत कन्सल्टेन्सी बापतको रकम लिएको छ ।

अग्रिम रुपमा कन्सल्टेन्सी बापतको रु १४ करोड रकम भुक्तानी दिइसकिएको बताइएको छ । तर, भवन बनाउने कार्य भने अधुरो र अलपत्र छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा रौनियारले कन्सल्टेन्सी बापतको रकम भुक्तानी दिएर उक्त भवन निर्माणबापत विनियोजित रकममध्ये नौ करोड एमआरआई खरिदमा रकमान्तर गरेपछि भवन निर्माण कार्य अलपत्र परेको प्रतिष्ठानका जानकार पदाधिकारीहरुको आरोप छ ।

अस्पताल भवनको रु नौ करोड एमआरआई खरिदमा रकमान्तर गरिए पनि अन्तिममा त्यसको पनि सम्झौता रद्द गरिएपछि एमआरआई खरिद कार्य पनि अबरुद्ध भएको छ । दुई वर्ष अवधि सकिए पनि ४० प्रतिशत मात्रै काम भएको प्रारम्भिक अनुमान छ । रासस



प्रतिक्रिया दिनुहोस्