Logo

सभापति देउवाको बिरोध गर्नेहरु सकिने निश्चित छ : यादव



काठमाडौं, ८ बैशाख । काँग्रेस नेता महेन्द्र यादवले सभापति शेर बहादुर देउवाको विरोध गर्नेहरु सकिएर जाने बताएका छन् । नेपाली रेडियो नेटवर्क मार्फत प्रसारण हुने लोकप्रिय कार्यक्रम नेपाली वहसमा ऋषि धमलासँगको अन्तरवार्तामा नेता यादवले यस्तो टिप्पणी गरेका हुन ।

काँग्रेस केन्द्रीय समितिको वैठक स्थगित पछि पुनः सञ्चालन हुन नसकेको स्थितिमा केही यूवा नेताहरुले सभापति देउवाको खरो रुपमा आलोचना गरेपछि नेता यादवले यस्तो जवाफ दिएका हुन ।

नेता यादवले पार्टीको पदाधिकारी चयनको काम तल्काल समपन्न हुने जिकिर समेत गरे । उनले भने, ‘सभापति देउवाले पार्टीभित्रका वरिष्ट नेताहरुलाई उचित जिम्मेवारी दिनु हुनेछ, त्यसको लागि तयारी हुँदैछ, अहिले नै यहि नेता छान्नु हुन्छ भनेर भनिरहनु पर्दैन, पार्टी सभापतिले यसका बारेमा उचित कदम लिनु हुन्छ ।’
पार्टीभित्रका धेरै वरिष्ट नेताहरु छन् सभापति देउवाको आँखामा को नेता परेको छ नि भनेर गरिएको प्रश्नको जवाफमा नेता यादवले भने, ‘थुप्रै नेता हुनुहुन्छ, सायद विमयन्द्र निधिलाई उप–सभापतिमा चयन गर्नुहुन्छ होला।’

शेर बहादुर देउवाले पार्टी चलाउन सक्नु भएन नि ? भनेर सोधिएको अर्को प्रश्नको जवाफमा नेता यादवले भने, ‘हेर्नुस् ऋषि जि कृष्ण प्रसाद भट्टराईको पालमा पञ्चायत ढल्यो, सुशिल कोईरालाको पालामा संविधान आयो, देउवाको पालामा वर्षौ देखि अड्कीएको स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन भयो ।’

उनले अघि थपे, ‘सभापति देउवाले संविधान कार्यन्वयनको पक्षलाई सफलता पूर्वक पूरागर्नु भयो, हाल प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यन्वयन गर्ने मौका पाउनु भएको थियो, तर उहाँले मधेशवादी दललाई वार्तामा ल्याउन र निर्वाचन गर्न सक्नु भएन, त्यो कुरा भुल्नु हुँदैन, सभापति देउवा कसरी असफल ? पार्टीले चुनाव हार्नुमा सभापतिको मात्रै दोष हुँदैन ।’

प्रतिपक्षको भूमिका प्रभावकारी रुपमा खेल्न सक्नु भएन नि भनेर सोधिएको फरक प्रश्नमा नेता यादवले भने, ‘हामीले प्रतिपक्षको भूमिका खेलेका छाँै, हाम्रो आवाज सुनेर सरकारले आफ्ना गतिविधि अघि बढाउनु पर्छ, एमालेले जनतालाई ढाटेको छ, चुनाव सकिदा वित्तिकै केरुङ हेलिकप्टर लिएर जाने, प्रधानमन्त्री बनेपछि ओली कता लम्पसार हुनुभयो तपाईले थाह पाउनु भएन् ? जनताले किन सोधेनन् ? मधेशीवादी दलहरु र एमालेबीचमा कत्रो लफडा थियो आज सत्तामा पुग्दा खेरी सबै कुरा भुल्ने ? यस्तो पनि हुन्छ ?’



प्रतिक्रिया दिनुहोस्