काठमाडौं २१ बैशाख । ‘यति धेरै कुरा सार्वजनिक भइरहेको छ, यति धेरै व्यक्तिलाई पक्राउ गरी अदालत ल्याइएको छ तर ३३ किलो सुनचाहिँ कहाँ छ ?,’ जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलाल बुधबार त्यसैको मुद्दा दर्ता गर्नुअघि पत्रकारहरूसँग जिज्ञासा राख्दै थिए ।
सुनको खोजी कतै गरेको नदेखेपछि दुलालले मुख खोले, ‘यति जना पक्राउ, उति जना पक्राउ मात्रै भनिएको छ तर सबैको जिज्ञासा त्यो सुन कहाँ गयो भन्नेमै छ ।’ यो प्रकरणसँग शरीर बन्धक र हत्यासम्मका अपराध जोडिए पनि समग्र कारण सुन नै रहेकाले त्यो फेला नपरेसम्म वास्तविकता ओझेलमै रहने उनको भनाइ छ ।
गत ९ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको भनिएको तस्करीको ३३ किलो सुन ओसारपसारमा संलग्न भनिएका एक जनाको हत्या भइसकेको छ । उच्चपदस्थ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । उनीहरूलाई सुनको अवैध कारोबार, अपहरण, हत्या र संगठित अपराधसम्बन्धी अभियोग लगाइएको छ । तर, त्यसको जड सुन कहाँ पुग्यो भन्ने रहस्य अदालतमा समेत खुलाइएको छैन ।
कसैले त्यसलाई गलाएर बेचिएको भनेका छन् भने कतिपयले अन्यत्र पठाइसकिएको, गाडिएको वा विमानस्थलबाटै नबाहिरिएको जस्ता अनुमान गर्दै आएका छन् । अर्का थरीले मुख्य तस्कर र प्रहरीकै मिलेमतोमा गायब पारिएको अनुमान गरेका छन् । भरिया भनिएका व्यवसायी सनम शाक्यको हत्यारा पत्ता लगाउन सक्ने प्रहरीले सुन बरामद नगर्नुलाई ‘रहस्यमय’ भन्ने पनि छन् ।
जिल्ला अदालत, मोरङमा एकै दिन यति धेरै जनाविरुद्ध मुद्दा दायर भएको यो पहिलो घटना भएको दुलालले बताए । अभियोगअनुरूपको दसीप्रमाण हेरेर मुद्दा दर्ता गर्न झन्डै तीन घण्टा लागेको थियो । एउटै इजलासमा पालैपालो बयान सकिन तीन दिनसम्म लाग्ने उनले बताए । ‘आरोपीको अदालतमा बयान नसकुन्जेल बोल्नसमेत समय छैन,’ मोरङका प्रहरी प्रमुख एसपी अरुण बीसीले भने, ‘प्रहरीले बयान गराएको कागजातको पहाड खडा भएको छ ।’ कान्तिपुरबाट