Logo

रेडक्रस सहयोगको पुनःनिर्माण अन्तिम चरणमा



नुवाकोट, २१ वैशाख । भूकम्पपछिको अवस्था सामान्य बनाउन तथा क्षति पुगेका संरचनाको पुनःनिर्माण गर्न नुवाकोटमा नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा भइरहेको भूकम्प प्रतिकार्य कार्यक्रम प्रभावकारी बनेको छ ।

पुनःनिर्माणअन्तर्गत रेडक्रस जिल्ला शाखाले साविकका आठ गाविस काहुले, भाल्चे, मनकामना, हल्देकालिका, लच्याङ, उर्लेनी, सूर्यमती र चतुरालेमा जीविकोपार्जन, खानेपानी तथा सरसफाइ एवं स्वच्छता प्रवद्र्धन, स्वास्थ्य क्षेत्रमा क्षमता अभिवृद्धिलगायतका सहयोग कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला सभापति सुरतबहादुर चित्रकारले जानकारी दिनुभयो ।

“भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत काहुले र भाल्चेका पीडितलाई आवास निर्माणमा सहयोग पु¥याइरहेका छौँ ।” चित्रकारले भन्नुभयो “विपद्बाट संकटापन्न अवस्थामा रहेका बासिन्दाको जीवन सामान्य बनाउन सीप प्रवद्र्धन तालीमदेखि नगद अनुदानसमेत प्रदान गर्दै आएका छौँ ।” रेडक्रस नुवाकोटले पुनःनिर्माणको जिम्मेवारी पाएको काहुले र भाल्चेमा पुनःनिर्माणको प्रगति जिल्लाको अन्य स्थानको भन्दा अग्रस्थानमा रहेको सरकारी तथ्यांक छ ।

काहुलेमा ९९६ लाभग्राहीमा ९१५ घरधुरीले आवास निर्माणमा गरिरहेका छन् । भाल्चेमा एक हजार नौ लाभग्राहीमा ९७१ परिवारले भूकम्प प्रतिरोधी आवास पुनःनिर्माण गरिरहेको रेडक्रसका भूकम्प प्रतिकार्य कार्यक्रमका जिल्ला संयोजक शारदा खतिवडाले जानकारी दिनुभयो ।

जिल्लाभरको पुनःनिर्माणमा दोस्रो किस्ता रकम पाउने प्रतिशत ७८ रहेकोमा रेडक्रसमार्फत निर्माण भइरहेको काहुले र भाल्चेमा ९२ प्रतिशतभन्दा बढी पुगेको छ । जिल्लामा ६९ हजार २८९ लाभग्राहीमध्ये हालसम्म घरको जगसम्म निर्माण सम्पन्न गरी दोस्रो किस्ता अनुदान सिफारिस हुने संख्या ५० हजार ८९ घरधुरी छन् ।

काहुले र भाल्चेका दुई हजार पाँच परिवारमध्ये एक हजार ६८६ परिवारले जगतह पूरा गरी दोस्रो किस्ताको अनुदान पाएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

विपद्मा परेका बासिन्दालाई सहयोग पु¥याउने उद्देश्यले क्रियाशील रेडक्रसले भूकम्पपछिको संकटापन्न अवस्था सामान्य बनाउन नेपाल सरकारले दिएको जिम्मेवारी सफलरुपमा कार्यान्वयनमा ल्याएको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताउनुभयो ।

“रेडक्रस मार्फत सञ्चालित कार्यक्रमको निरन्तर अनुगमन गरिरहेका छौं ।” तामाङले भन्नुभयो “पुनःनिर्माणको प्रगति उत्कृष्ट छ, तर बनिरहेका घरको आकार सानो भएकाले लाभग्राहीलाई जनचेतनामार्फत परिवार संख्याअनुसार निर्माण गराउनमा जोड दिनु आवश्यक छ ।”

रेडक्रसमार्फत सञ्चालित कार्यक्रमले प्रत्येक घरमा दक्ष डकर्मी उत्पादन, निर्माण भएका आवास विपद् प्रतिरोधी, समाजमा हराउँदै गएको पर्म आलोपालो प्रथा विधिलगायतका कार्यलाई नमूनाका रुपमा लिइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्