वैशाख २३, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण र नागरिक अभिनन्दनका लागि प्रदेश नम्बर दुईको सरकाले तयारी तिब्र पारेको छ । मोदी यही २८ गते भारतबाट सिधै जनकपुर जाँदैछन् ।
प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले आफू मोदीको भ्रमणको तयारीमा व्यस्त रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै राउतले मोदीको भ्रमणलाई लक्षित गरी सरसफाइदेखि अन्य व्यवस्थापनका काम प्रदेश सरकारले गरिरहेको बताए ।
ति क्षेत्रमा पहिला पनि सरसफाई गर्नु पर्ने भए पनि स्थानीय निकायले गर्न नसकेको उनको आरोप छ ।
भारतीय प्रधानमन्त्री मोदी प्रदेश नम्बर दुईको धार्मिकस्थल जनकपुर आउनु आफूहरुका लागि गर्वको कुरा भएको राउतले बताए ।
“मोदी प्रदेश नम्बर दुईमा आउँदैहुनुहुन्छ । निश्चित रुपमा यो हाम्रा लागि गर्व हो । त्यसैले यसलाई कसरी सफल बनाउने भनेर हामी प्रयासरत छौँ । भव्य र हर्षोल्लास बनाउनका लागि प्रदेश सरकार जुटेको छ ।” राउतले भने । “जे गर्दा भव्य हुन्छ, त्यो सबै गर्छौँ ।”
मोदीको जनकपुर भ्रमणको तयारीका लागि केन्द्र सरकारसँग समन्वय भए पनि पर्याप्त सहयोग हुन नसकेको उनको आरोप छ । “संघीय सरकारले जुन किसिमको हातेमालो गर्नुपर्ने हो, त्यो गरेको छैन । यसमा गुनासो छ ।” उनले भने ।