काठमाडौं, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आपसी चासोका सबै विषयमा कुराकानी भएको बताएका छन्।
काठमाडौंस्थित होटल द्वारिकाजमा भएको द्वीपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले नोटबन्दी, कृषि, जलमार्ग निर्माण र थप हवाई रूटलगायत विषयमा गम्भीर छलफल भएको बताए।
ओलीले भने, ‘‘जलमार्गको सम्भावना अध्ययनका लागि भारतले छिट्टै प्राविधिक टोली पठाउने छ, नेपाली बैकमा रहेका भारतीय नोट र थप हवाई रूटबारे कुरा राखेका छौं।’
ओलीले द्विपक्षीय वार्ताको क्रममा व्यापार घाटाको विषय समेत आफूले राखेको बताए। ओलीले बाढी पीडितको समस्या समाधानका लागि दुई देशले कार्यदल खटाउने समझदारी भएको उल्लेख गरे।
उनले भारतसँग नेपालले २१ औ शताब्दीअनुसार वास्तविकताका आधारमा सम्बन्ध राख्न चाहेको बताएका छन्। प्रधानमन्त्री ओलीले नेपाल र भारतको सम्बन्ध सानातिना घटनाले प्रभावित हुन नहुने बताए। साथै समानताका आधारमा सम्बन्ध कायम हुनुपर्ने बताए। ओलीले नेपाल र भारत दुई स्वतन्त्र र अन्तरनिर्भर राष्ट्र भएको बताए।