Logo

प्रतिपक्ष दललाई पेल्न खोजे कांग्रेस सहेर नबस्ने सचेतक क्षेत्रीको चेतावनी



अर्घाखाँची, २८ बैशाख :  नेपाली कांग्रेस पाँच नम्वर प्रदेश संसदिय दलका सचेतक निर्मला क्षेत्रीले सत्ता पक्ष दलहरुले प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई कमजोर बनाउन नसक्ने बताउनुभएको छ । उहाँले प्रतिपक्ष दललाई पेल्न खोजे कांग्रेस सहेर नबस्ने चेतावनी समेत दिनुभयो ।

रिपोर्टर्स क्लब अर्घाखाँचीले सन्धिखर्कमा गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो । ‘मुलुकका ठूला÷ठूला राजनीतिक परिवर्तन कांग्रेसकै नेतृत्वमा भइरहेका छन्’ उहाँले भन्नुभयो ।, ‘कांग्रसको भूमिकालाई सत्ता पक्षले चाहेर पनि अवमुल्यन गर्न सक्दैन ।’ उहाँले सरकारले गरेका राम्रा कामको समर्थन गर्दै नराम्रा कामका बिरुद्ध निरन्तर खवरदारी गरिरहने बताउनुभयो । ‘सरकारले गर्ने हरेक गतिविधिमा हाम्रो निगरानी रहिरहन्छ’ उहाँले थप्नुभयो । ‘सरकारले गलत गरे कांग्रेस जनतालाई साथमा लिएर सडकमा जान्छ ।’

उहाँले जिल्लाको विकासका लागि सबै सांसदहरु एकजुट रहेको बताउनुभयो । उहाँले जिल्लालाई समृद्ध बनाउन जिल्लाबाट निर्वाचित सबै सांसदहरुका बीचमा छलफल परामर्स भइरहेको बताउनुभयो । ‘सबै मिलेर जिल्लाको विकासलाई उचाइमा पुर्याउने संकल्प गरेका छौं’ उहाँले भन्नुभयो, ‘अर्घाखाँचीका सांसदहरुको एकताबाट अरु जिल्लाका सांसदहरु पनि प्रभावित भएका छन् ।’ क्षेत्रीले पाँच वर्ष भित्रमा जिल्लाले विकास निर्माणमा धेरै फड्को मार्ने भन्दै यो अवधिमा ठूला’ठूला परियोजना सम्पन्न गर्ने गरि काममा लागेको जानकारी दिनुभयो ।

जिल्लाको विकासका लागि सबै पार्टीगत स्वार्थ भन्दा माथि उठ्नु पर्नेमा उनको जोड थियो । उहाँले मुलुकका परिवर्तनकारी आन्दोलनहरुलाई सफल तुल्यान पत्रकारहरुले खेलेको भूमिकाको जति प्रशंसा गरे पनि नपुग्ने बताउनुभयो । सुशासन विना समृद्धिले सार्थकता नपाउने भन्दै सुशासनका लागि मिडियाको भूमिका अहम रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक पिताम्वर शर्मा भुसालले स्थानीय तहका कामलाई पारदर्शी बनाउन जिससले निरन्तर अनुगमन तथा निरिक्षण गरिरहने बताउनुभयो । ‘जिससले योजनाको ड्राफ्ट माग्दा स्थानीय तहहरुले दिएका छैनन’ उहाँले भन्नुभयो । ‘हामीले आफ्नो अधिकार प्रयोग गरेर काममा लाग्नमा कुनै कसुर बाँकी राख्दैनौं ।’ उहाँले केहि जनप्रतिनिधिहरुले आस्थाका आधारमा भेदभाव गरेको गुनासाहरु जिससमा आउने गरेको बताउनुभयो । ‘निर्वाचनमा भोट नदिएकै कारण, सिफारिस नदिने, अन्य काममा पनि दुःख दिने गरेका गुनासाहरु आउने गरेका छन्’ उहाँले भन्नुभयो, ‘ त्यस्ता जनप्रतिनिधिहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्छ ।’

सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले नगरपालिकाले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने ढंगले कामहरु गरिरहेको बताउनुभयो । उहाँले सूचनाको हकको नाममा खुल्याम धम्काएर बार्गेनिङ्ग गर्ने कामले तिव्रता पाएको भन्दै यस्ता गतल कामलाई प्रश्रय दिन नहुने बताउनुभयो । पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसी लेकालीले जिल्लाका पत्रकारहरुमा अपसी एकता रहेको भन्दै समृद्धिको अभियानलाई सफल तुल्यान पत्रकारहरुका कमल निरन्तर चलिरहने बताउनुभयो ।

पत्रकार महासंघका पाँच नम्वर प्रदेश सदस्य अशोक खनालले पत्रकारहरुले एनजिओ सञ्चालन गरेर अपारदर्शी ढंगले कामहरु गरेको भन्दै त्यस्लाई निरुत्साहित गर्न जिल्ला कार्यसमितिले उचित कदम चाल्नु पर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न पदमा निर्वाचित भएका पत्रकारहरुलाई सम्मान गरिएको छ ।

पत्रकार महासंघ पाँच नम्वर प्रदेश सदस्यमा जिल्लाबाट निर्वाचित शोभाखर पन्थी, प्रेमनारायण आचार्य र अशोक खनाललाई रिपोर्टर्स क्लवले सम्मान गरेको छ । यस्तै वानको प्रदेश सदस्यमा निर्वाचित श्याम घिमिरे, पर्यटन पत्रकार मञ्चका प्रदेश संयोजक जितेन्द्र खत्री, क्रान्तिकारी पत्रकार संगठनको केन्द्रीय सदस्यमा निर्वाचित अनिल नेपालीलाई पनि सम्मान गरिएको छ । उनीहरुलाई कांग्रेस सचेतक क्षेत्रीलेले सम्मान गरेकी हुन ।



प्रतिक्रिया दिनुहोस्