Logo

‘मोदीको भ्रमण सफल, पूर्ण सफलको लागि केही समय कुर्नैपर्छ’



काठमाडौं, ३१ वैशाख । सत्तारुढ दल नेकपा एमालेका सचिव भीम आचार्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमण सफल भएको प्रतिक्रिया दिएका छन् । यद्धपी उनले पूर्ण सफल पनि आफूले नभन्ने प्रतिक्रिया दिए । आचार्यले भने,‘उहाँको भ्रमण सफल भयो, तर पूर्ण सफल भन्न सकिँदैन, यसको लागि त समय कुर्नैपर्छ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा आचार्यले मोदी तेस्रो पटक नेपाल भ्रमणमा आएको बताउँदै भने,‘उहाँ पहिलोपटक नेपाल भ्रमणमा आउँदा धेरै ठूलो उत्साह थियो, उहाँको छिमेकी पहिलो नीति पनि धेरै लोकप्रिय थियो, त्यसपछिको घट्नाक्रम हामीलाई थाहै छ।’

????????????????????????????????????

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले मोदीको भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको भनेर दुवै तर्फबाट भनिएको बताउँदै अब त्यो व्यवहारमा हेर्न जरुरी रहेको स्पष्ट पारे । उनले अरुण तेस्रोको शिलान्यास हुनु नौलो कुरा नभएको प्रतिक्रिय दिए । उनले भने,‘यो परियोजना करिब चार वर्ष अघि नै नेपालको लगानी बोर्ड र भारतको सत्तलज कम्पनीबीच सम्झौता भएको कुरा हो।’ भारत र नेपालबीच धेरै महत्वपूर्ण सहमति तथा सम्झौता भएपनि ती कार्यान्वयन नहुनु दुःखद् कुरा भएको उनको गुनासो छ ।

नेता आचार्यले हुलाकी राजमार्ग, पञ्चेश्वर परियोजना, सिमा विवाद, सिमाका बाँध लगायतमा भएका समझदारीहरु कार्यान्वयन हुनुपर्नेमा जोड दिए । त्यस्तै उनले काठमाडौं–रक्सौल रेलको कुरापनि अब परिणाममा देखिनुपर्ने बताए । त्यस्तै कोशी तथा गण्डक सम्झौता भएको यतिका वर्ष वित्दापनि अहिलेसम्म जनताले पाउनुपर्ने सुविधा नपाएकोमा उनको गुनासो थियो । उनले हरेक पटक नयाँ–नयाँ काम गर्ने तर कार्यान्वयन नहुने पक्षलाई सच्याएर लैजानुपर्नेमा जोड दिए ।

उनले भारतले यदि नेपालसँगको सम्बन्धमा कोर्स करेक्सन गरेर जान चाहेको हो भने त्यो अब व्यवहारमा देखिनुपर्ने बताए । मोदीको भ्रमणले सकारात्मक सन्देश दिएकोले अहिले भएका द्धिपक्षीय भेटवार्ताका प्रयत्नहरु राम्रो रहेको र सोही अनुसार अब नतिजा आउनुपर्ने उनको भनाई छ ।

भारतमा अझैपनि व्यूरोक्रेसी हाबी भएकोले आगामी दिनमा नेपाल र भारतबीचको सम्बन्धमा पोलिटिकल लेभलमा सम्बन्धलाई अघि बढाउनुपर्ने उनले सुझाए । नेपाल र भारतबीचको सम्बन्ध विशेष रहेकोले एक अर्काले पारस्परिक लाभ र समानताका आधारमा सम्बन्धलाई अघि बढाउनुपर्ने बताए ।

फरक प्रसँगमा उनले मोदीको नागरिक अभिन्दनको क्रममा २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अपरिपक्व अभिव्यक्ति दिएको टिप्पणी गरे । उनले भने,“यो उहाँको इम्याच्योर्ड अभिव्यक्ति हो, नेपालमा समस्या छ भनेर अरुलाई पोल लगाएको जस्तो भयो, एक्स्पोज गर्नुभयो, संविधानले हिमाल, पहाड र तराई सबैका जनतालाई समान अधिकार दिएको छ।”

प्रधानमन्त्री ओलीले जनकपुरको जानकी मन्दिरमा पहिरिएको पहिरन मिथिलाको पोशाक भएकोले यसमा कसैले अनावश्यक टिप्पणी गर्नु र आरोप लगाउनुको अर्थ नहुने उनको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्