Logo

पर्यटकीय क्षेत्रको विकासका लागि पूर्वाधारमा लगानी



नारायण ढुंगाना : रत्ननगर, चितवन २२ वैशाख / पूर्वी चितवनको कालिका नगरपालिकाले पर्यटकीय क्षेत्रको विकासका लागि पूर्वाधारमा लगानी शुरु गरेको छ ।

यहाँको शक्तिखोर, सिद्धिलगायत पहाडी क्षेत्रको पर्यटन विकासका लागि नगरपालिकाले झण्डै रु दुई करोड रकम विनियोजन गरेर काम थालेको नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

शक्तिखोरको पहाडी पर्यटकीय क्षेत्रमा जाने सडक र बाटोघाटो निर्माण एंव प्रचारप्रसारलाई तीव्रता दिनेगरी कार्यक्रम शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

यो वर्षमात्रै पर्यटन पूर्वाधार तथा सडक निर्माणका लागि करीब रु दुई करोड बजेट विनियोजन गरेको भन्दै प्रमुख श्रेष्ठले शक्तिखोरलाई आसपासका पर्यटकीय क्षेत्रसँग जोडेर विदेशी पर्यटक समेत भित्र्याउने योजना बनाइएको बताउनुभयो ।

पहाडी पर्यटकीय क्षेत्र चितवनको शक्तिखोरस्थित सिन्ती झरनालगायत क्षेत्रमा अहिले पनि आन्तरिक पर्यटक जाने गरेका छन् । विदेशी पर्यटक औंलामा गन्न सकिने भएकाले अब विदेशी पर्यटक समेत भित्र्याउने र स्वदेशी पर्यटक बढाउने गरी काम शुरु भएको छ ।

यसका लागि कालिका नगरपालिका भित्रपर्ने पहाडी क्षेत्र सिद्धि, शक्तिखोरलाई इच्छाकामना गाउँपालिकाको उपरदाङगढी र सिंराइचुली, खैरहनी नगरपालिकाको कंकाली तथा रत्ननगरको सौराहा र कृष्ण प्रणामी मन्दिरलाई समेत जोडेर एकिकृत पर्यटन विकास गर्न लागिएको हो ।

मुख्यगरी पर्यटन विकासका लागि बाटोघाटोको सुविधा आवश्यकपर्ने भएकाले पहाडी क्षेत्रको पर्यटन मार्ग निर्माणलाई प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले यहाँको सिन्ती झरनामा जाने पैदलमार्ग निर्माणका लागि रु १० लाख छुट्याइएको छ । नागदहमा जाने बाटो निर्माणका लागि रु चार लाख, चित्राम झरनामा जाने बाटो निर्माणका लागि रु २० लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै देउजर, पाइमाराङ, मझवाङ, दौत्य, गामिङदुङ, छेरवाङ, तथा लोतौती पर्यटन सडकका लागि मात्रै करीब रु एक करोड ६० लाख बढी रकम विनियोजन गरेर काम शुरु भएको नगरप्रमुख श्रेष्ठ बताउनुहुन्छ ।

पहिलो चरणमा सडक र पैदलमार्ग निर्माण गर्ने र त्यसपछि पर्यटकीय गन्तव्यको प्रचारलाई तीव्रता दिने योजना रहेको उहाँको भनाई छ ।

चितवनको कालिका नगरपालिकामा मुख्यगरी भीमवली बाबा, कालिका मन्दिर, नागदह, चमेरे गुफा, उदयपुर फनपार्क, चित्राम झरना, सिन्ती झरना, सम्फर्याङका आकर्षक प्राकृतिक पर्यटकीय आकर्षकका केन्द्र हुन् ।

चितवनको भरतपुरबाट शान्त वातावरण र शीतलताका लागि यहाँ पर्यटक आउने गरेपनि बाटोघाटोको राम्रो व्यवस्था हुननसक्दा समस्या परेको भन्दै नगरपालिकाले अहिले पर्यटन सडक निर्माणमा जोड दिएको हो ।

यहाँका स्थानीय विवेक डल्लाकोटीले सौराहा र सिंराइचुलीलाई जोड्न सके यो क्षेत्र पर्यटनको खानी रहेको दाबी गर्नुहुन्छ । चितवनको कालिका नगरपालिका–९ र १० को सिमानामा रहेको पर्यटकीय क्षेत्र सिन्ती झरना जाने पैदलमार्ग निर्माणको काम शुरु भएको नगरपालिकाले जनाएको छ ।

स्थानीय दलबहादुर चेपाङले यहाँ रहेको चेपाङ संस्कृतिसँग जोडेर पर्यटन विकास गर्नुपर्नेमा जोड दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्