Logo

आज ऐतिहासिक कम्युनिस्ट एकता : नयाँ पार्टी ५२.३७% जनमत प्राप्त इतिहासकै ठूलो दल



काठमाडौं ३ जेठ । प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच बुधबार बिहान दुई घन्टाको छलफलपछि एकताको अन्तिम टुंगो लागेको थियो । सबै विषय टुंगिएपछि ओली र प्रचण्डले एकताको प्राविधिक काममा सक्रिय विष्णु पौडेल र जनार्दन शर्मालाई दायाँ–बायाँ राखेर फोटो खिचाए । ओलीको रुचिमा एकताको सन्देशसहित पत्रकारहरूलाई बोलाएर फोटो सेसन गराइएको थियो ।

दुई ठूला वाम दल एमाले र माओवादी आज (बिहीबार) एकीकरण हुँदै छन् । मदन–आश्रित स्मृति दिवसका अवसर पारेर दुवै पार्टीले आ–आफ्ना पुराना संरचना विघटन गरी नेपाल कम्युनिस्ट पार्टी गठन गर्न लागेका हुन् । आन्तरिक छलफल र पार्टी एकता संयोजन समिति बैठकबाट सबै प्रक्रिया पूरा गरी बिहीबारै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने तयारी छ ।

बुधबार बिहान एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड दुई घन्टा लामो छलफलपछि पार्टी एकताको निष्कर्षमा पुगेका हुन् । साँझ बसेको एमाले स्थायी समिति बैठकमा ओलीले र माओवादी हेडक्वार्टर बैठकमा प्रचण्डले दुई नेताबीचको सहमतिबारे ब्रिफिङ गरेका थिए । ‘दिनभर पार्टी एकताका सबै प्रक्रिया पूरा गरेर बिहीबार साँझ एकता घोषणा गर्ने तयारी छ,’ एमाले उपाध्यक्ष वामदेव गौतमले भने ।

१७ असोज ०७४ मा राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरेर पार्टी एकता तथा वाम चुनावी तालमेल गर्ने निर्णय सार्वजनिक गरेका दुवै दलले साढे सात महिनापछि एकीकृत पार्टी घोषणा गर्न लागेका हुन्।

जनमतमा इतिहासकै शक्तिशाली पार्टी
एमाले र माओवादीको एकीकरणबाट बन्ने नयाँ पार्टी जनमतका आधारमा इतिहासकै ठूलो पार्टी हुनेछ । संघीय संसद्को निर्वाचनमा सदर ८५ लाख ४८ हजार मतको ५२.३७% मत एमाले–माओवादीले पाएका थिए । प्रतिनिधिसभामा एमालेको १२१ र माओवादीको ५३ सिट छ । दुवैको जोड्दा दुईतिहाइभन्दा १० सिट कम अर्थात् १७४ सिट हुन्छ । जसले ५२.३७% जनमतको प्रतिनिधित्व गर्नेछ ।

राजनीतिक प्रतिवेदनमा प्रचण्ड र जनयुद्ध उल्लेख
एकीकृत पार्टीको राजनीतिक प्रतिवेदनमा जनयुद्धको नेतृत्व प्रचण्डले गरेको विषय थप गरिएको छ । ‘प्रचण्डको नेतृत्वमा भएको जनयुद्धले नेपाली समाजको गुणात्मक परिवर्तनमा योगदान पु-याएको’ विषय प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको एक माओवादी नेताले बताए । झापा आन्दोलन, जनआन्दोलन, जनयुद्ध, ०६२/६३ को आन्दोलनले राजनीतिक परिवर्तनमा खेलेको भूमिकाबारे राजनीतिक प्रतिवेदनमा उल्लेख थियो । नयाँपत्रिकाबाट

यस्तो हुनेछ नयाँ पार्टीको सांगठनिक संरचना

केन्द्रीय कमिटी : ४४१ सदस्यीय
एमालेबाट : २४१ र माओवादीबाट : २००
स्थायी समिति : ४३ सदस्यीय
एमालेबाट : २५ र माओवादीबाट : १८
पोलिटब्युरो : १४५ सदस्यीय केन्द्रीय कमिटीको एकतिहाइ अर्थात् १४५ सदस्यीय बनाउने सहमति

दश तहका कमिटी
स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय कमिटी, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी, महानगर/उपमहानगर/नगर/गाउँपालिका कमिटी, वडा कमिटी र प्रारम्भिक कमिटी

आलोपालो अध्यक्षता, चुनाव चिह्न सूर्य
एकीकृत पार्टीमा दुवै अध्यक्ष पार्टी प्रमुखका रूपमा रहनेछन् । दुवै सहअध्यक्षको हैसियतमा रहनेछन् । पार्टी बैठकको दुवैले पालैपालो अध्यक्षता गर्ने सहमति छ । दुवैमा बराबर कार्यकारी अधिकार रहनेछ । नयाँ बन्ने नेपाल कम्युनिस्ट पार्टीको चुनाव चिह्न सूर्य राख्ने सहमति भएको छ । यो चिह्न यसअघि एमालेको थियो ।



प्रतिक्रिया दिनुहोस्