Logo

तीन महिनाभित्र नेकपाका तलैसम्मका कमिटी एकीकरण



काठमाडौं ६ बैशाख ।  नेपाल कम्युनिस्ट पार्टीले तीन महिनाभित्र केन्द्रीय कमिटीमातहतका सबै तल्ला कमिटी, केन्द्रीय विभाग र केन्द्रीय आयोगहरू एकीकरण गर्ने गरी विधि, प्रक्रिया र मापदण्ड तयार गर्दै छ । त्यस्तै, भ्रातृसंगठनहरूको एकीकरण पनि तीन महिनाकै बीचमा सम्पन्न गर्ने नेकपाको योजना छ ।

अध्यक्षद्वय केपी ओली र प्रचण्ड नेतृत्वको केन्द्रीय सचिवालयले तलैसम्म एकीकरणको गृहकार्य गर्नेछ । महासचिव विष्णु पौडेलले विधि, प्रक्रिया र मापदण्डबारे सचिवालय बैठकमा छलफल हुन बाँकी रहेको बताए ।

तत्कालीन एमालेबाट २४१ र माओवादीबाट २०० केन्द्रीय सदस्य मिलाएर नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने अन्तिम तयारी छ । तर, एमालेका तत्कालीन २०६ मा २०० जना र माओवादीका ८५ जनाको मात्र नामावली रहेको रोस्टर तयार छ । एमालेले ४१ र माओवादीले ११५ जनाको नाम टुंग्याइसकेपछि दुवै अध्यक्ष बसेर अन्तिम रूप दिने तयारी छ । माओवादीले स्थायी समिति सदस्यकै नाम टुंगो नलगाइसकेकाले ढिलाइ भइरहेको एक नेताले बताए ।

एमालेमा १०० भन्दा बढी आकांक्षी, ओली र नेपालले टुंग्याउँदै
तत्कालीन एमालेबाट थपिने ४१ जना केन्द्रीय सदस्यमा एक सयभन्दा बढी नेता आकांक्षी देखिएका छन् । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई अन्तिम टुंगो लगाउने जिम्मेवारी दिइएको छ । अहिलेसम्म रोस्टरमा खगराज अधिकारी, आनन्दप्रसाद पोखरेल, गोकुल बाँस्कोटा, विष्णु रिजाल, शिव गुरुङ, महेश बस्नेत, नीरज आचार्य, विनोद ढकाल, कृष्ण थापा, भूमिश्वर ढकाल, उर्वादत्त पन्त, दामोदर भण्डारी, जगन्नाथ थपलिया, देवी ज्ञवाली, राजेन्द्र गौतम, नेत्र पन्थी, रामेश्वर फुयाँल, दिलु पन्त, नारदमुनि राना, राजीव पहारीलगायतको नाम छ ।

स्थायी समिति सदस्य छान्न तत्कालीन माओवादीको तयारी
नेकपामा स्थायी कमिटीका ४५ जनामा तत्कालीन एमालेबाट २६ र माओवादीबाट १९ जना रहनेछन् । माओवादीले तत्कालीन हेडक्वार्टर सदस्यहरूबाट नै स्थायी कमिटी सदस्यको सूची तयारी अवस्थामा राखे पनि एक–दुईजनाको नाम सचिवालयबाट छान्ने गरी गृहकार्य भइरहेको एक नेताले बताए । अहिलेसम्म देवप्रसाद गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिका यादव, शक्तिबहादुर बस्नेत, अमिक शेरचन, लेखराज भट्ट, जयपुरी घर्ती, देवेन्द्र पौडेल, राम कार्की, मणि थापा, उर्मिला अर्यालको नाममा छलफल भइरहेको एक नेताले बताए । त्यसैगरी, कुलप्रसाद केसी, हितमान शाक्य, चक्रपाणि खनाल, तिलक परियार, हितराज पाण्डे, दिनानाथ शर्मालगायत नेताबाट स्थायी कमिटी सदस्य छान्ने तयारी भएको छ । आइतबार बेलुकासम्म स्थायी कमिटी सदस्य टुंगो लगाइसक्ने नेकपाका नेता अग्निप्रसाद सापकोटाले बताए ।

केन्द्रीय सदस्य छान्न मापदण्ड
तत्कालीन एमालेले नवौँ महाधिवेशनमा उम्मेदवार बनेर थोरै मतान्तरमा पराजित भएका, दोहो¥याएर केन्द्रीय विभागको सचिव भइसकेका, पूर्वकेन्द्रीय सदस्यहरू, योग्यता–क्षमता राख्ने विभागका सचिव र जनसंगठनका अध्यक्ष र महासचिव भइसकेका युवाहरूमध्येबाट छान्ने तयारी भइरहेको सचिवालयका एक सदस्यले बताए ।

त्यस्तै, तत्कालीन माओवादीका तर्फबाट प्रचण्डले अहिलेसम्म ८५ जना केन्द्रीय सदस्यको नाम मात्र बुझाएका छन् । ११५ जना छानिँदै छन् । केन्द्रीय सदस्यमा तत्कालीन माओवादी सचिवालय सदस्यहरू सबै परेका छन् भने अरू पोलिटब्युरो सदस्यबाट केन्द्रीय सदस्यमा व्यवस्थापन गरिने अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दियो । योग्यता, क्षमता, पार्टीमा विगतमा गरेको योगदान र वरिष्ठताका आधारमा केन्द्रीय सदस्य छान्ने तयारी छ ।

महासचिव पौडेललाई जिम्मेवारी
संगठन प्रमुखको जिम्मेवारी पाएका महासचिव विष्णु पौडेललाई अध्यक्षद्वयको निर्देशन र परामर्शमा काम गर्ने गरी जिम्मेवारी तोकिएको छ । नेकपामा दुई अध्यक्ष नै प्रमुख रहेको शक्तिशाली केन्द्रीय सचिवालय बनाइएकाले अन्तरिम विधानमा महासचिवले उनीहरूको निर्देशन र परामर्शमा काम गर्ने गरी जिम्मेवारी तोकिएको एक सचिवालय सदस्यले बताए । कम्युनिस्ट पार्टीमा महासचिवले गर्ने अभ्यासअनुसार केन्द्रीय कार्यालय सञ्चालन, निर्णय कार्यान्वयन र संगठनसम्बन्धी काम गर्ने गरी नै अधिकार रहने ती नेताको भनाइ छ । यद्यपि, महासचिव पौडेलले भने पार्टी एकता संयोजन समितिले वरिष्ठ नेता, प्रवक्ता र महासचिवको व्यवस्था गरेकाले परिभाषित जिम्मेवारी अध्यक्षद्वयको परामर्शअनुसार अन्तरिम विधान बाहिर आएपछि प्रस्ट हुने बताए । नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्