Logo

प्रदेश प्रमुखद्वारा अस्पतालको अवलोकन



नगरकोट, ११ जेठ । प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले बिहीबार भक्तपुर क्यान्सर अस्पतालको अवलोकन गर्नुभएको छ । भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत आफ्नो निजी सचिवालयका कर्मचारी भवीन्द्र कार्कीका बुबा जगतबहादुर कार्कीको स्वास्थ्य अवस्था बुझ्न प्रदेश प्रमुख झा अस्पताल पुग्नुभएको समयमा अस्पतालको अवलोकन गर्नुभएको हो ।

प्रदेश प्रमुख झालाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले स्वागत गर्दै अस्पतालको अवलोकन भ्रमण गराउनुभएको थियो ।

अध्यक्ष श्रेष्ठले भक्तपुर क्यान्सर अस्पताल सरकारी–निजी सहकारीको उत्कृष्ट नमूना भएको भन्दै अस्पतालमा आउने क्यान्सर बिरामीको चाप दिनप्रतिदिन बढिरहेको बताउनुभयो ।

“क्यान्सर बिरामीको चाप दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भर्ना गर्न शय्या नपाउँदा दैनिक ३०–४० जना बिरामीलाई फर्काउनुपर्ने बाध्यता भएको जानकारी दिनुभयोे ।”

प्रदेश प्रमुख झाले अस्पतालले दिने सेवा सुविधाबारे र निःशुल्क उपचार दिन सकिने नसकिनेबारे चासो व्यक्त गर्नुभएको थियो ।

नेपाल अर्बुदरोग निवारण संस्थाका अध्यक्षसमेत रहनुभएका श्रेष्ठले सरकारले आर्थिक सहयोग उपलब्ध गराए अस्पतालले क्यान्सर बिरामीलाई निःशुल्क उपचार गर्न सकिने जानकारी दिनुभयो ।

सरकारले चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सरलाई उपलब्ध गराउने बजेटको १० प्रतिशतमात्रै उपलब्ध गराए भक्तपुर क्यान्सर अस्पतालले सम्पूर्ण क्यान्सर बिरामीको निःशुल्क उपचार गर्न सकिने उहाँले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले क्यान्सरको छुट्टै विभाग नभएका निजी अस्पताललाई गरीब तथा विपन्न क्यान्सर बिरामीलाई दिइने अनुदान दिन नहुनेतर्फ प्रदेश प्रमुखको ध्यानाकर्षण गराउनुभयो ।

“विपन्न अनुदान जथाभावी दिँदा काठमाडौँका गल्लीमा अस्पताल खुल्नेछन्”, उहाँले भन्नुभयो, “पैसा जति निजी अस्पतालमा खर्च गरेर अन्तिम अवस्थामा हामीकहाँ आउने क्रम बढ्नेछ ।” रासस



प्रतिक्रिया दिनुहोस्